Prakash Adhikari August 27, 2021

 

काठमाडौं, ११ भाद्र(बीबीसी) । ९० जनाको जीवन जाने गरी बिहीबार अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम विष्फोटमा कुनै नेपाली नपरेको दावी सरकारले गरेको छ ।

नेपाल फर्किन काबुल विमानस्थलमा जम्मा भएका ४२ जना नेपाली नागरिकहरू बिहीवार साँझ आत्मघाती विस्फोटन भएपछि सुरक्षित स्थानमा बसिरहेको अधिकारीहरूले बताएका छन्।

आफगानिस्तान पनि हेर्ने नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले एक-दुई दिनभित्रै ती नेपाली नागरिकहरूको समूहलाई स्वदेश फर्काउन विभिन्न स्तरमा कूटनीतिक पहल भइरहेको जानकारी दिनुभयो।

हालसम्म अफगानिस्तानबाट उद्धार गरिएका करिब ८ सय जना नेपाल फर्किएका छन्।

त्यहाँ झन्डै १ हजार ५ सय नेपाली रहेको तथ्याङ्क आफूसँग भएको सरकारी भनाइ छ।

सरकारका अनुसार उद्धार भई दोहा, दुबई, लन्डन र नयाँदिल्लीजस्ता गन्तव्यमा हाल रहेका भनिएका नेपालीको स्पष्ट सङ्ख्या थाहा हुन नसकेको जनाएको छ।

विमानस्थल गएका नेपाली अहिले कहाँ छन् ?

नयाँदिल्लीस्थित नेपाली राजदूतावासका डेप्यूटी चीफ अफ मिशन रामप्रसाद सुवेदीले विमानस्थलमा बिहीवार स्वदेश फर्कन जम्मा भएका ४२ जना अहिले अर्को सुरक्षित स्थानमा सँगसँगै बसिरहेको जानकारी दिनुभएको छ।

“उहाँहरू नेपाल आउनका लागि विमानस्थलसम्म पुग्नुभएको थियो तर त्यो सम्भव भएन। र त्यहाँबाट फेरि फर्किएर एउटा गुरुद्वारामा हुनुहुन्छ। खानपिन गर्ने, बस्ने सबै व्यवस्था छ र सुरक्षित हुनुहुन्छ।” सुवेदीले भन्नुभयो ।

काबुल विमानस्थल

काबुल विमानस्थल
उहाँले बिहीवार काबुल विमानस्थलमा भएको विस्फोटनलाई आफूहरूले गम्भीरतापूर्वक लिएको जानकारी दिँदै सकेसम्म चाँडो उद्धार प्रक्रिया अघि बढाउन प्रयास गरिरहेको जानकारी दिनुभएको छ।

“हामीले उहाँहरूलाई शान्त रहन र पर्खन भनेका छौँ। हाम्रो प्रयास जारी छ। उहाँहरूलाई सकभर आजभोलिमै उद्धार गर्न हामीले विभिन्न साझेदारहरूसँग, राष्ट्रसङ्घीय निकायहरूसँग र सैनिक विमानहरूको प्रयोग गरिरहेका दुईपक्षीय सम्बन्ध भएका मित्रराष्ट्रहरूसँग कुराकानी गरिरहेका छौँ।”

ती नेपालीहरूको समूह बिहीवार अफगानिस्तानबाट बाहिरिने उद्देश्यसहित काबुल विमानस्थलमा पुगेको थियो। तर उडानको अवसर नपाएपछि फर्किएको थियो।

सुवेदीका अनुसार उक्त समूहमा रहेका कतिपय व्यक्तिहरू गैरकानुनी बाटो हुँदै अफगानिस्तान पुगेका थिए।

उनीहरू विभिन्न सहरमा रहे पनि पछि एक ठाउँमा भेला भएको जानकारी दिँदै सुवेदीले सो समूहसँग नियमित सम्पर्क भइरहेको जनकारी दिनुभएको छ।

काबुल विमानस्थलमा भएको दुईवटा बम विस्फोटनमा कम्तीमा १३ अमेरिकी सैनिकसहित ९० जनाको मृत्यु भएको थियो।

उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट खोरासान नामक समूहले लिएको छ।

काबुल विमानस्थल

काबुल विमानस्थल

कति जनाको उद्धार भयो ?

यसअघि परराष्ट्र मन्त्रालयले बुधवारसम्म काबुलबाट उद्धार भई नेपाल आइपुगेका व्यक्तिहरूको सङ्ख्या ७ सय ७० रहेको जनाएको थियो।

बिहीवार ११ जना नेपाली नागरिकहरू काबुलबाट दिल्ली पुगेका थिए।

उनीहरू शुक्रवार काठमाडौं आइपुग्ने जनाकारी दिल्लीस्थित नेपाली दूतावासले दिएको छ। उद्धार गरिएका अन्य दुई नेपाली पनि दिल्लीमै छन्।

अहिलेसम्म उद्धार गरिएका नेपालीमध्ये अधिकांश विभिन्न पश्चिमा देशका दूतावासको सुरक्षार्थ खटिएका गार्डहरू रहेका छन्।

आफ्ना कूटनीतिज्ञ र कर्मचारीको फिर्तीसँगै ती देशहरूले नै सुरक्षा गार्डहरूलाई पनि हवाई उडानमार्फ्त सुरक्षित गन्तव्यमा लगिरहेका छन्।

काबुलबाट हवाई उद्धार

काबुलबाट हवाई उद्धार

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले उद्धार कार्य अघि बढाउने समयमा लगभग ८ सय ६० जना नेपालीहरू राष्ट्रसङ्घका विभिन्न निकायमा अफगानिस्तानमा कार्यरत रहेको विवरण सङ्कलन गरेको थियो।

तीमध्ये झन्डै ३ सय जना पछिल्लो तनावअघि नै नेपाल आएको जानकारी पाएको एक अधिकारीले बताए।

तालिबानले विदेशी फौजहरूलाई अगामी मङ्गलवारसम्म काबुल छाड्न समयसीमा दिएको छ।

विदेशी सेना र सैनिक विमानहरूको सहयोगमा अहिले जारी रहेको हवाई उद्धारको त्यसपछि के हुन्छ भन्ने स्पष्ट छैन।

अगस्ट ३१ सम्म उद्धारकार्य सम्पन्न नहुने भएकाले समय लम्ब्याउनुपर्ने प्रस्ताव यूके र जर्मनीजस्ता राष्ट्रहरूले गरेका भए पनि अमेरिकाले सहमति जनाएको छैन।

यसै हप्ता अमेरिकी राष्ट्रपति विमानस्थलमै आक्रमणको जोखिम रहेको उल्लेख गर्दै तोकिएकै समयमा उद्धारकार्य सम्पन्न गरिनुपर्ने धारणा राख्नुभएको थियो।

अमेरिकी संयन्त्रले समयमै सही सूचना पाए पनि त्यसलाई रोक्न भने अमेरिकी सेना र अफगानिस्तानमा रहेको उसको संयन्त्र विफल हुन गएको थियो ।

 

Share Now

Leave a comment.