Prakash Adhikari February 25, 2018

 

काठमाडौँ, १३ फागुन(रासस) । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ हुन जाने दुर्गा बक्स गण आठाँँै डफ्फाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज प्रस्तुत गरेको तालिमको निरीक्षण गर्नुभएको छ

राष्ट्रपति भण्डारीले निरीक्षण तथा सम्बोधनका क्रममा नेपाली सेना आफ्नो देशमा मात्रै नभई विदेशका द्वन्द्वरत स्थलमा समेत शान्ति व्यवस्था कायम गर्न उच्च हौसलाका साथ संलग्न रहेको बताउनुभयो ।

उहाँले संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना गर्ने कार्यमा सहभागी हुन जान लाग्नु भएका सैनिकले नेपाल र नेपालीको छवि उच्च राख्ने र शान्ति स्थापना गर्ने कार्यमा निष्ठा र ईमान्दारीताका साथ समर्पित हुनु हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिलाई व्यवहारिक रुपमा असरदार बनाई नेपाल र नेपालीको मान, सम्मान र छविलाई विश्व जनसमुदाय तथा विश्व परिवेशमा उच्च राख्न नेपाली सेनाबाट आजसम्म भएको योगदान प्रति सबै नेपालीले गौरव गर्न सकेको बताउनुभयो ।

निरीक्षणको क्रममा राष्ट्रपति भण्डारीले दुर्गा बक्स गणद्वारा प्रदर्शन गरेको मिशन इलाकामा आइपर्ने चुनौती र गर्नुपर्ने कार्य सम्बन्धी विभिन्न अभ्यास तथा प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसी, नेपाली सेनाका रथीहरु, शान्ति स्थापना कार्यमा जान लाग्नु भएका अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share Now

Leave a comment.