Prakash Adhikari September 3, 2021

पेरिस(फ्रान्स), १८ भाद्र (बीबीसी) । सानै उमेरदेखि मोबाइल, कम्प्युटर र क्यालकुलेटर जस्ता विद्युतीय सामग्रीका उपयोग गरेर हुर्किएका केटाकेटीको बौद्धिक स्तर ती प्रयोग नगरिकन आफ्नो दिमाग खियाएर हातले लेख्ने बानी परेका बालबालिकाहरुको भन्दा कमजोर हुने कुरा बैज्ञानिकहरुले सचेत गराएका छन् ।

फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्नुहुन्छ, ‘अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै किसिमले पनि क्षम्य छैन।’

मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको उहाँले बीबीसीलाई बताउनुभएको छ।

डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्री’ मा डिजिटल प्रविधिलाई मूर्ख उत्पादन गर्ने उद्योगसँग तुलना गर्दै त्यस्तो दाबी गर्नुभएको छ।

उहाँका शब्द प्रियकर नलागे पनि यी वैज्ञानिकले आफ्नो धारणा तथ्याङ्कमा आधारित भएको बताउनुभयो ।

फ्रान्सको राष्ट्रिय स्वास्थ्य संस्थामा अनुसन्धान निर्देशक र आफ्नो विषयका विज्ञका रूपमा विश्वका चर्चित विश्वविद्यालय एमआईटी र यूनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गर्र्नुभएका वैज्ञानिकको पुस्तकले हामी आफ्नो बच्चा कसरी हुर्काउँछौँ भन्नेमा व्यापक बहस निम्त्याएको छ।

प्राज्ञिक समूहभन्दा बाहिर पनि उहाँ केही लोकप्रिय हुनुहुन्छ र फ्रान्समा सर्वाधिक विक्री भएको सूचीमा परेको उहाँको पुस्तक इटालियन र स्पेनिश भाषामा पनि अनुवाद भइसकेको छ।

मोबाइल फोन खेल्दै बालिका
इन्टरनेट लोकप्रिय भएपछि जन्मिएका मानिसहरूलाई अहिले ‘डिजिटल नेटिभ’ भनिन्छ

यो पुस्तकले ‘डिजिटल नेटिभ्स’ अर्थात् इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आईक्यू (बौद्धिक स्तरको मान- तिनका आमाबुवाभन्दा कम रहेको तर्क गरेको छ।

शृङ्खलाबद्ध परीक्षणबाट कसैको बौद्धिक स्तर कति छ भनेर गरिने गणना गरिन्छ।

‘इन्टरनेटको कुलत लागुऔषध जतिकै घातक’

विद्युतीय प्रविधि आउनुअघि प्रत्येक नयाँ पुस्ता अघिल्लो पुस्ताभन्दा बाठो भएको डेस्म्युजेको तर्क छ।

प्रस्तुत छ उहाँसँग बीबीसीले गरेको कुराकानीको अंश :

के अहिलेको युवा पुस्ता अघिल्लो पुस्ताको तुलनामा कम आईक्यू भएको पहिलो पुस्ता हो ?

हो। आइईक्यू विशिष्ट परीक्षणबाट जाँच गरिन्छ तर अधिकांश अवस्थामा त्यसको विधि परिमार्जन भइरहन्छ।

मेरा अभिभावकले मैले उत्तीर्ण गरेकै परीक्षा दिएका थिएनन्। तर मानिसहरूको एउटा समूहलाई पुरानै परीक्षामा पनि राख्न सकिन्छ।

डेस्म्युजे

डेस्म्युजे : डिजिटल दुर्व्यसनले मानिसको बौद्धिक क्षमता घटनाको डेस्म्युजेको तर्क छ

त्यसो गरेर अनुसन्धानकर्ताहरूले विश्वका धेरै स्थानमा एउटा पुस्ताबाट अर्को पुस्ता आइपुग्दा आईक्यू बढेको पत्ता लगाए।

यो प्रवृत्तिको व्याख्या गर्ने अमेरिकी वैज्ञानिकका नाममा यसलाई ‘फ्लीन इफेक्ट’ भनिएको थियो। तर अहिले धेरै देशहरूमा त्यो क्रम उल्टिन थालेको छ।

स्वास्थ्य प्रणाली, विद्यालय प्रणाली र पोषणजस्ता कुराले आईक्यूमा महत्त्वपूर्ण प्रभाव पार्छ। तर दशकौँदेखि आर्थिक सामाजिक अवस्था स्थिर रहेका देशमा पनि ‘फ्लीन इफेक्ट’ कमजोर हुँदै गएको छ।

नर्वे, डेनमार्क, फिनलन्ड, द नेदरल्यान्ड्स, फ्रान्स आदि देशमा यस्तो देखिन्छ।

के डिजिटल प्रविधिको प्रयोगका कारण बौद्धिक स्तर घटिरहेको हो?

अहिले नै सानो उमेरमा कीटनाशक औषधि वा स्क्रीनसँगको सम्पर्कजस्ता कारकले कस्तो विशिष्ट भूमिका खेले भन्न सकिँदैन।

तर हामी के भन्न सक्छौँ भने बच्चाले स्क्रीनमा बिताएको समयले आईक्यूमा उल्लेख्य रूपमा प्रभाव पार्न सक्छ।

सन् १९४७ मा आईक्यू परीक्षणमा सहभागी हुँदै एक महिला

सन् १९४७ मा आईक्यू परीक्षणमा सहभागी हुँदै एक महिला : सन् १९४० को दशकदेखि एक पुस्ताबाट अर्को पुस्तामा जाँदा बौद्धिक स्तर बढेको देखिएको भए पनि अहिले केही देशमा त्यो परिस्थिति उल्टिएको देखिएको छ

सबै दोष त्यसलाई लगाउन नसकिए पनि कैयौँ अध्ययनले टेलिभिजन वा भिडिओ गेममा बढी समय बिताउँदा आईक्यू र ज्ञानसँग सम्बन्धित मस्तिष्कको विकास प्रक्रिया कमजोर रहेको देखाएको छ।

भाषा, एकाग्रता, स्मृति र संस्कृति हाम्रो चेतनशीलताका मूल जग हुन् र त्यसमा प्रभाव पर्दा हाम्रो शैक्षिक गुणस्तरमा पनि उल्लेख्य ह्रास आउँछ।

डिजिटल उपकरणको प्रयोगले किन यस्तो प्रभाव पार्छ ?
कारणहरू प्रष्ट छन्। हाम्रो भाषागत र भावनात्मक विकासका लागि महत्त्वपूर्ण रहने परिवारसँग अन्तर्क्रियाको गुणस्तर र परिमाणमा कमी।

अरू उपलब्धिपूर्ण कामहरू जस्तै गृहकार्य, सङ्गीत, कला र अध्ययनमा दिने समय पनि घट्छ।

दुई बालक

दुई बालक : स्क्रीनमा व्यतीत हुने समय र सङ्ज्ञानको विकासको उल्टो सम्बन्ध भएको अनुसन्धाताहरू बताउँछन्

त्यसबाहेक निद्रा प्रभावित हुने, ध्यान अन्यत्र जाने हुनाले एकाग्रता भङ्ग हुन्छ र ज्ञानसम्बन्धी प्रतिक्रिया कम हुँदा मस्तिष्कले आफ्नो पूर्ण क्षमतामा काम गर्न सक्दैन।

एकैखालको त्यस्तो जीवनशैलीले शरीरको विकासबाहेक मस्तिष्कले काम गर्ने तरिकालाई पनि प्रभावित गर्छ।

स्क्रीनले हाम्रो मस्तिष्क प्रणालीमा के असर गर्छ ?

मस्तिष्क ‘स्थिर’ अङ्ग होइन। यसको ‘अन्तिम’ चरित्र अनुभवमा आधारित हुन्छ।

हामी बाँच्ने विश्व र हामीले भोग्ने चुनौतीले यसको संरचना र काम गर्ने तरिकामा परिवर्तन ल्याइरहेको छ।

मस्तिष्कका कतिपय सञ्जाल बालियो भइरहेका हुन्छन् कतिपय मोटा र पातला बन्छन्।

फोनमा खेल्दै बालबालिका

फोनमा खेल्दै बालबालिक : मनोरञ्जनका लागि स्क्रीनमा धेरै समय खर्च गर्दा त्यसले मस्तिष्क विकास ढिलो हुने डेस्म्यूजेको तर्क छ

मनोरञ्जनका लागि स्क्रीनमा समय बिताउदाँ शारिरिक रूपले मस्तिष्कको परिपक्व हुने प्रक्रिया ढिलो हुने पाइएको छ।

बालबालिकाको मस्तिष्कलाई त्यसले कमजोर बनाउँछ।

विद्यालय, बौद्धिक गतिविधि, अध्ययन, सङ्गीत, कला, खेलकुदजस्ता गतिविधिले मनोरञ्जनात्मक स्क्रीनभन्दा धेरै बढी सकारात्मक प्रभाव मस्तिष्कलाई दिन्छन्।

के सबै स्क्रीन उत्तिकै घातक छन् ?

कसैले पनि ‘प्रविधि क्रान्ति’लाई खराब भएकाले यसलाई रोक्नुपर्छ भनिरहेका छैनन्।

स्क्रीन हेर्दै एक बालिका

स्क्रीन हेर्दै एक बालिका : केही देशले बालबालिकालाई कति समय स्क्रीनमा बिताउन दिने भनेर कानुन बनाउन थालेका छन्

म स्वयम् पनि मेरो दैनिक कामकाजमा उल्लेख्य समय डिजिटल उपकरणमा बिताउँछु।

विद्यार्थीहरूलाई आधारभूत कम्प्युटर ज्ञान र सीप सिकाउनुपर्छ। त्यसैगरी शिक्षकहरूले पनि अध्यापन प्रवर्धन गर्ने निश्चित सफ्टवेअर प्रयोग गर्न सक्छन्।

तर जहाँसम्म बालबालिका वा किशोरवयका मानिसलाई स्क्रीन चलाउन दिने कुरा छ, अधिकांश अवस्थामा स्क्रीन मनोरञ्जनका लागि प्रयोग हुने गरेको छ।

सबैभन्दा बढी टेलिभिजन (चलचित्र, सिरीज र क्लिप) अनि भिडिओ गेम (लडाइँ र हिंसा) र त्यसपछि सामाजिक सञ्जालको प्रयोग बढी गरिन्छ।

Kids playing hockey
इन्टरनेटबाहिर गरिने पढाइ, सङ्गीत, कला र खेलकुदजस्ता गतिविधिले मस्तिष्कमा राम्रो प्रभाव पार्ने डेस्म्यूजेको तर्क छ

बालबालिका र किशोरकिशोरीले अधिकांश अवस्थामा कति समय स्क्रीनमा बिताउँछन् ?

औसतमा दुई वर्षकाले प्रत्येक दिन तीन घण्टा र आठ वर्षकाले प्रत्येक दिन पाँच घण्टा समय बिताएको पाइन्छ।

किशोरकिशोरीले सात घण्टाभन्दा बढी समय बिताएको देखिन्छ।

त्यसको अर्थ १८ वर्षको उमेर पुग्नुभन्दा पहिले नै उनीहरूले ३० स्कूले वर्ष वा १६ वर्षे पूर्णकालीन रोजगारीको अवधि स्क्रीनको अघि बिताइसक्छन्।

त्यो पागलपन र गैरजिम्मेवारपूर्ण हो।

फोन चलाउँदै किशोरकिशोरी

फोन चलाउँदै किशोरकिशोरी : डिजिटल नेटिभहरूले सामाजिक असमानता भोग्नुपर्ने डेस्म्युजेको चिन्ता छ

बालबालिकाले मनोरञ्जनका लागि स्क्रीनमा कति समय व्यतीत गर्दा हुन्छ ?
सुरुमा बालबालिकालाई मनोरञ्जनका लागि स्क्रीनमा समय बिताउँदा त्यसले मस्तिष्कलाई क्षति पुर्‍याउने, निद्रा खलबल्याउने अनि भाषा ग्रहण गर्ने क्षमतालाई कमजोर बनाइदिने कुरा बुझाउनुपर्छ।

त्यसबाहेक एकाग्रता भङ्ग गर्छ, शैक्षिक उपलब्धि कमजोर बनाउँछ र मोटोपन बढाउँछ।

स्क्रीन हेर्दै एक बालिका

स्क्रीन हेर्दै एक बालिका : डेस्म्युजेका अनुसार अभिभावकहरूले स्क्रीनको नकरात्मक प्रभावबारे आंशिक र पूर्वाग्रही सल्लाह लिने गरेका छन्

कतिपय अध्ययनहरूले कारण व्याख्या र छलफल गरिएको अवस्थामा बालबालिका र किशोरकिशोरीलाई ती नियम पालना गर्न सजिलो भएको देखाएको छ।

सारांशमा भन्नुपर्दा जुनसुकै उमेर समूहमा भए पनि सकेसम्म कम समय स्क्रीनमा बिताएको राम्रो हो।

छ वर्षको उमेरभन्दा पहिला सकेसम्म स्क्रीनमा पहुँच नभएकै राम्रो हो। (त्यसको अर्थ बेलाबेलामा तपाईँले आफ्ना बच्चासँग कार्टून हेर्न पाउनुहुन्न भन्ने होइन।)

जति चाँडो उनीहरूलाई स्क्रीनसम्म पहुँच दियो त्यति नै बढी नकारात्मक प्रभाव र त्यसपछि चाहिनेभन्दा बढी खपत गर्न खोज्ने जोखिम हुन्छ।

छ वर्षभन्दा माथिको उमेर भएकाहरूलाई यदि सामग्री उपयुक्त छन् र उनीहरूले पर्याप्त समय सुतिरहेका छन् भने दिनको आधा वा एक घण्टा पहुँच दिन सकिन्छ।

कक्षामा विद्यार्थी

कक्षामा विद्यार्थी : विद्युतीय उपकरणमा गेम खेल्ने बालबालिका र किशोरकिशोरी पढाइमा राम्रो भएको देखाउने अध्ययनसँग डेस्म्युजे सहमत छैनन्

त्यसका लागि विद्यालय जानु आधा घण्टाअघि वा सुत्न जानुअघि वा अरू व्यक्तिसँग भएका बेलामा प्रयोग गर्न नपाइने सर्त हुनुपर्छ।

अनि सबैभन्दा महत्त्वपूर्ण कुरा सुत्ने कोठामा स्क्रीन हुनुहुँदैन।

तर हाम्रा केटाकेटीलाई स्क्रीन समस्या हो भनेर बुझाउन अप्ठ्यारो छ किनभने अभिभावकहरू नै निरन्तर फोन वा स्क्रीनमा खेल्न व्यस्त छन्।

 

Share Now

Leave a comment.