Prakash Adhikari September 6, 2021

काठमाडौं, २१ भाद्र। शेयर बजारमा आज अप्रत्यासित बढोत्तरी भएको छ । आज अर्थमन्त्री र गभर्नरबीच शेयर बजारमा देखिएको ह्रासोन्मुख अवस्थाको सुधार गर्ने बिषयमा वार्ता भएको सूचना सार्वजनिक भएसंगै हिजो पाँच प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पुँजी बजारमा आज ५.७४ प्रतिशत बढेर २९८०.७८ बिन्दुमा पुगेको छ।

सोमबार २ सय २४ कम्पनीको १ लाख ९ हजार पटकको कारोबारमा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ४५ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ। कारोबारमा आएका २ सय २४ कम्पनीमध्ये जम्मा ८ कम्पनीको मात्र शेयरमूल्य घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये विकास बैंक, जलविद्युत र वित्त उपसमूहको परिसूचक ९ प्रतिशतभन्दा बढी बढेको छ।

त्यसैगरी, अन्य उपसमूहको परिसूचक ८.३८ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा हिमालय डेष्टिलरी कम्पनी रहेको छ । जसको कारोबार २६ करोड ८८ लाख ९६ हजार ३१३ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नाफा कमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । हाइड्रोपावरमा १० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, आज घाटा व्यहोर्नेमा नेपाल इन्भेष्टमेन्ट डिभेन्चर २०८२ का लगानीकर्ता रहेका छन् । कम्पनी –१.९४ अंकले घाटामा गएको छ ।

बजारमा केही दिनदेखि निरन्तर ह्रासोन्मुख प्रवृत्ति देखिएपछि शेयर लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए ।

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरे ।

लगानीकर्ताहरु पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए ।

संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ । समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि सारेको जनाएको छ ।

लगानीकर्ताको प्रदर्शनपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई शेयर बजारमा देखिएको समस्या समाधान गर्न वार्ता गर्नुभएको थियो । यो सन्देशसगै शेयरबजारमा हरियाली र लगानीकर्तामा खुसीयाली छाएको हो ।

Share Now

Leave a comment.