कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रलाई विश्वासको मत प्राप्त, गठबन्धन सरकारलाई कांग्रेसको शुभकामना
बीरेन्द्रनगर(सुर्खेत),१५ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् ।आज(मंगलबार) भएको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा ३२ मत र विपक्षमा ६ मत परेको थियो । कर्णालीको प्रदेश सभा ४० सदस्यीय छ । मतदानमा सभामुख तटस्थ रहेको र कांग्रेसका एक सदस्य अनुपस्थित थिए ।
विश्वासको मत दिने प्रस्तावमा छलफलमा बोल्दै माओवादीबाट मुख्यमन्त्री बनेका शाहीले कर्णाली प्रदेशको विकास गर्न सबै दल मिलेर जानुको विकल्पन नरहेको बताए ।
उनले प्रदेशको समृद्धिको लागि विकासका कुरामा पक्ष र प्रतिपक्षे समान ढंगले लागि पर्नुपर्ने बताए ।
उनले प्रतिपक्षमा रहेका कांग्रेससहित राप्रपासँग विश्वासको मतमागेका थिए ।
एमाले संसदीय दलका नेता यामलाल कंडेलले समर्थन गर्दै प्रदेश समृद्धिका लागि एक हुनुपर्ने बताए ।
माओवादी केन्द्रकी संसदीय दलकी सचेतक सीता नेपालीले पनि प्रदेश निर्माणका लागि सबैदल एक हुनुपर्ने बताएन।
प्रतिपक्षी दल कांग्रेसका जीवनबहादुर शाहीले भने सरकारको लामो समयसम्म टिकोस् भन्ने शुभकामना दिंदै आफूहरु प्रतिपक्षमै बस्ने सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्ने बताए ।
उनले बाम‘गठबन्धन नफुटोस्, सरकार नभत्कियोस् भन्ने शुभकामना दिएका थिए ।
पूर्वमन्त्री समेत रहेका शाहीले प्रदेशको सम्बृद्धिका लागि सरकारले प्रतिपक्ष दलका योजनालाई समेत समेट्नु पर्ने भन्दै एक्लै नदौडिन सरकारलाई सुझाव दिए ।