Prakash Adhikari September 22, 2021

काठमाडौँ, ६ असोज । सत्तारूढ गठबन्धनको मंगलबार बसेको बैठकले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सहमति भएअनुसार सम्भवतः बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।

सरकार गठन भएको लामो समयभइसक्दा समेत मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा सरकारको आलोचना भइरहेको छ ।

दलहरुबीच मन्त्रिमण्डललाई शीघ्र पूर्णता दिने विषयमा आजको बैठकमा मतैक्य भएको छ । सोही सम्बन्धमा बुधबार पुनः गठबन्धनको बैठक बस्ने कार्यसूची तय भएको छ ।
मंगलबारको बैठकमा विशेषगरी सरकार विस्तारका विषयमा नै छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

गठबन्धनले मन्त्रिपरिषद् विस्तारका बारेमा खाका तयार पार्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले आवश्यक छलफल गरी मन्त्रिपरिदमा कुन दलले के कति सदस्य लिने भन्ने बारेमा एउटा खाका तयार पारेको छ ।

मंगलबारको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता थियो ।

Share Now

Leave a comment.