तम्घास(गुल्मी),६ असोज । गुल्मीमा पहिरोले घर भत्काउँदा भित्र सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको छ।
गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ८ थुम्कामा तिलक परियारको घरमा पहिरो खस्दा कोठामा सुतिरहेका छोरीहरू २१ वर्षीया भावना परियार र १४ वर्षका जुम्ल्याहा गंगा परियार र जमुना परियारको मृत्यु भएको हो।
‘राति १२ बजेतिर हुनुपर्छ, घरमाथिबाट पहिरो खसेर कोठा भत्किँदा भित्र सुतिरहेका चार दिदीबहिनीमध्ये जुम्ल्याहासहित तीन जनाको मृत्यु भएछ’, एसपी भट्टराईले बुधबार बिहान भन्नुभयो, ‘एक जनालाई भने हतारहतार तानेर बचाउन सफल भएछन्।’
उहाँका अनुसार पहिरोले पक्की घरको एउटा कोठा मात्र भत्काएको हो। परिवारका अन्य सदस्य भने सकुशल छन्।


















