काठमाडौं, ७ असोज । नेकपा एमालेबाट विभाजित भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पहिलो बैठक सकिएको छ ।
बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गठन गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
बैठकले एक अध्यक्ष, एक वरिष्ठ नेता, सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ । जम्मा ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको खतिवडाले बताउनुभयो । बैठकm् सबै प्रदेश तथा जिल्ला इञ्चार्जसमेत तोकेको छ । एकीर्कत समाजवादीको केन्द्रीय कमिटीबाहेक सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) को यो बैठकले कार्यसमितिका पदाधिकारीको टुंगो लगाएको छ ।
पार्टीमा अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल, नेतामा मुकुन्द न्यौपाने रहनुभएको छ। यस्तै, उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई चयन हुनुभएको छ। महासचिवमा बेदुराम भुसाल, उप महासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधार, डा. विजय पौडेल चयन हुनुभएको छ।
सचिवमा नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन हुनुभएको छ।
समाजवादीको पोलिटब्यूरो ७१ सदस्यीय र स्थायी समिति ३५ सदस्यीय हुनेछ। बैठकले आगामी तीन महिनाको कार्य योजनासमेत तय गरेको छ।
बैठकले ‘तत्कालीन कार्ययोजना’ २०७८ पारित गरेको छ । तीन महिनाभित्र सबै स्थानीय तहका वडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको छ ।
बैठकले ७०१ सदस्यीय केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ । पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन् । केन्द्रीय सल्लाहकार र ज्येष्ठ नागरिक मञ्च गठन गरिएको सो पार्टीले जनाएको छ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाइ छलफल भएको थियो ।
बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल भएको केन्द्रीय सदस्य दिलुकुमारी पन्तले बताउनुभयो ।




















