काठमाडौं, १३ असोज । केही दिनदेखि राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा केही छिनमै मौसम बदलिने र सामान्य वर्षा हुने क्रम जारी छ।
कतिपयले यस्तो मौसमी परिस्थितिको कारण बङ्गालको खाडीमा विकसित भई बनेको गुलाब नामक चक्रवात भएको ठानेका छन्।
मौसमविद्हरूका अनुसार नेपालमा उक्त चक्रवातको ‘अप्रत्यक्ष प्रभाव’ मात्र परेको छ भने मनसुन अझै नसकिएकाले पानी पर्ने क्रम रोकिएको छैन।
उनीहरूले यसपटक मनसुनको अवधि केही दिन लम्बिने सङ्केतहरू देखेका छन्।
बारम्बार पानी परिरहेकाले यस वर्ष धानबाली सप्रिएको हुँदा उत्पादन बढ्न सक्ने कृषि विज्ञहरूको भनाइ छ।
यद्यपि केही जातका धान अहिले पसाउने र फूल फुल्ने बेला भएकाले लगातार पनी परेमा दानाहरू पोटिला बन्न नसक्ने उनीहरूको चिन्ता छ।
गुलाब चक्रवातको प्रभाव कति ?
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गुलाब चक्रवातको अप्रत्यक्ष परिधिक असर मात्र नेपालमा परेको छ।
महाशाखाका अनुसार गत शुक्रवार बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भएर शनिवार गुलाब नामक शक्तिशाली चक्रवात विकास भएको थियो।
उक्त चक्रवात गत आइतवार भारतको उडिसा राज्यको स्थल क्षेत्रमा बजारिन पुग्यो।
त्यसपछि उक्त चक्रवात अहिले न्यून चापीय क्षेत्रका रूपमा पश्चिमतर्फ अघि बढिरहेको महाशाखाले जनाएको छ।
त्यसकै अप्रत्यक्ष प्रभाव मात्र नेपालमा परेको विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ।
‘घुमिरहेको चक्रवात वरिपरिको बादल चारैतर्फ फैलिने हुन्छ, त्यो नेपालसम्म आउने हुन्छ। त्यसले नेपालमा पनि बादल आएको छ।, ‘मानन्धरले भन्नुभयो ।
‘तर नेपालबाट धेरै नै टाढा भएकाले त्यसले भारी वर्षा चाहिँ गराउन सक्दैन।’

धानखेत
उहाँका अनुसार चक्रवातपछि बङ्गालको खाडी क्षेत्रमा फेरि एउटा न्यून चापीय क्षेत्र विकास भएकाले नेपालमा हल्का र मध्यम वर्षा भएको हो।
मानन्धरले भन्नुभयो, ूत्यो न्यून चापीय क्षेत्र र मनसुनको प्रभावका कारण पानी परेको हो।ू
आगामी दिनको मौसम कस्तो होला ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बिहीवारसम्म देशैभरि हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ।
मनसुन जारी रहनु र बङ्गालको खाडीमा विकास भएको न्यून चापीय क्षेत्रको प्रभावले त्यस्तो अवस्था आउने महाशाखाले जनाएको छ।
त्यस्तै बुधवार र बिहीवार पनि दिनमा तथा रातमा मेघ गजर्न सहित बर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।
मनसुन कहिले सकिन्छ ?
मौसमविद् मानन्धरका अनुसार यसपालि मनसुन सकिने भनेर मानिएको आधिकारिक दिनमा मनसुन सकिने सम्भावना कम देखिएको छ।
मानन्धरले भन्नुभयो, ‘मनसुन सकिने आधिकारिक दिन अक्टोबर २ तारिख हो, जुन यो शनिवार पर्छ। तर यो शनिवार मनसुन सकिने जस्तो अवस्था चाहिँ हामीले देखेका छैनौँ। लगभग केही समय लम्बिन्छ जस्तो लागिरहेको छ।’
उहाँले विभागले केही दिनमै त्यसबारे नयाँ जानकारी सार्वजनिक गर्ने पनि बताउनुभयो।
मनसुन लम्बिने भएकाले अझै केही दिन नेपालका विभिन्न स्थानमा मेघ गर्जनसहित हल्का र मध्यम वर्षा हुने मौसमविद्हरूको भनाइ छ।

धानबाली
धान बालीमा कस्तो असर पर्ला ?
यस पटक मनसुनमा धेरै मात्रामा वर्षा भएकाले त्यसले धान बालीमा सकारात्मक नै असर पर्ने सम्भावना रहेको कृषि विज्ञहरूको भनाइ छ।
कृषि विभागका वरिष्ठ कृषि अर्थ विज्ञ महादेवप्रसाद पौडेल भन्नुहुन्छ, ूधान भनेका पानी मन पराउने बाली नै हो। अहिले पानी राम्रो परिरहेको छ, जिल्लाहरूबाट विवरण लिँदा पनि पानी राम्रो परेकाले धान बाली राम्रो भयो भन्ने छ।ू
‘केही मान्छेहरूले पसाउने बेलामा वा पसाएर परागसेचन गर्ने बेलामा पानी बढी पर्यो भने केही असर हुन्छ कि भन्ने पनि भनिरहेका छन् तर पानी एकदमै झरीका रूपमा नपरेकाले समग्रमा यो पानीले नराम्रो असर गर्ने भन्दा पनि राम्रै प्रभाव पार्ने देखिएको छ।’
यसपालि समयमै प्रशस्त पानी परेको र बाढीले धान बालीलाई खासै धेरै असर पारेको विवरण नआएकाले धानको उत्पादन बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ।
उहाँले अहिलेकै जस्तो परिस्थिति धान पाक्ने बेलासम्म रहेमा धानको उत्पादनमा नकारात्मक असर नपर्ने बताउनुभयो।(बीबीसीबाट)


















