Prakash Adhikari September 30, 2021

 

स्पेनको ला पाल्मा टापुस्थित अहिले फुटिरहेको अर्थात् सक्रिय ज्वालामुखीबाट बहेको लाभा अहिले एटलान्टिक महासागरमा पुगेको छ। त्यसले विषाक्त ग्यास उत्सर्जन हुने र विस्फोट हुने त्रास पैदा भएको छ।

प्लाया नुएभा क्षेत्रमा महासागरको पानीमा रातो लाभा मिसिँदा बाफको बादलजस्तो आकारको मुस्लो माथि गइरहेको देखिएको छ।

यसले रासायनिक प्रतिक्रिया हुनसक्छ। त्यसमा क्लोरिन हुने भएकाले वरपरका मानिसमा छाला र आँखा चिलाउन सक्ने र श्वास प्रश्वासमा समस्या आउन सक्ने बताइएको छ।

सेप्टेम्बर १९ मा उक्त ज्वालामुखी फुटेपछि सयौँ घरहरू ध्वस्त भएका छन्।

लाभाले घरहरू, स्कुलहरू र केरा घारीहरू ध्वस्त बनाएपछि करिब छ हजार मानिसलाई उद्धार गरिएको छ।

लाभा स्थानीय समय अनुसार मङ्गलवार ढिलो गरी महासागरमा पुगेको केनरी आइल्यान्ड्स भोल्क्यानिक इन्स्टिच्यूट इन्भोल्क्यानले ट्वीट गर्दै जनाएको छ।

लाभा समुद्रमा मिसिएपछि के हुन्छ?

समुन्द्र तटको केही क्षेत्र ध्वस्त हुने र त्यसले विस्फोटन पनि निम्त्याउन सक्ने त्रास छ।

तीनवटा तटीय गाउँहरूमा लाभाले स्थानीय पानीका स्रोत प्रदूषित पारिदिएको आशङ्कामा लकडाउन गरिएको छ।

स्पेनका अधिकारीहरूले सुदूर उत्तरी टापुमा ला पाल्मामा ज्वालामुखी विस्फोट भएपछि त्यसलाई प्राकृतिक प्रकोप क्षेत्र घोषणा गर्दै प्रभावित सबैलाई आर्थिक सहायता उपलब्ध गराउने बताएका छन्।

 

Share Now

Leave a comment.