Prakash Adhikari October 1, 2021

 

क्यानबेरा (अष्ट्रेलिया) १५ असोज । अस्ट्रेलियाले अर्को महिना अन्तर्राष्ट्रिय यात्रामाथि लगाइएको प्रतिबन्ध हटाउँदैछ

अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई १८ महिनामा पहिलो पटक आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्दैछ।

अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको छ। बाहिरिने यात्रामा पनि प्रतिबन्ध लगाइएको छ।

यो नीतिले कोभिड१९ को नियन्त्रणमा सघाएको भन्दै प्रशंसा भएको छ तर यसले विवादास्पद रूपमा परिवारहरूलाई पनि छुट्टाएको पनि छ।

प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले यात्रासम्बन्धी स्वतन्त्रता पाउने बताए।

होटेल क्वारन्टीन हटाइने

अस्ट्रेलियामा रहेको १४ दिने होटल क्वारन्टीनको व्यवस्थाले प्रत्येक यात्रुलाई अस्ट्रेलियाली डलर ३,००० अर्थात् २ लाख ५६ हजार नेपाली रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो।

उक्त व्यवस्थालाई क्रमैसँग हटाउने निर्णय गर्दै त्यसको सट्टा खोप लगाएका यात्रुहरूलाई सात दिने होम क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिने बताइएको छ।

तर प्रमुख वायुसेवा कम्पनीहरूले तत्कालै आफ्नो सेवा सञ्चालन गर्न तयार नभइसकेको चेतावनी दिइसकेका छन्।

सिड्नी, मेलबर्न र क्यानबेरामा सङ्क्रमणका कारण लकडाउन लगाइएको छ। त्यसले हालैका महिनामा ती क्षेत्रमा खोप लगाउने गर्ने प्रवृत्ति बढेको छ।

सिड्नी रहेको न्यू साउथ वेल्स ८० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने पहिलो राज्य बन्ने क्रममा छ। मेलबर्न राजधानी रहेको भिक्टोरिया पनि धेरै पछाडि छैन।

तर क्विन्सलेन्ड र वेस्टर्न अस्ट्रेलिया जस्ता कतिपय राज्यहरूले खोप लगाउने दर उच्च नभएसम्म आफ्नो सीमा बन्द नै राख्ने बताइरहेका छन्।

सङ्क्रमण देखा परेका राज्यका मानिसलाई प्रवेश गर्न नदिएर यी राज्यहरू आफ्नो सङ्क्रमण दर शून्य वा लगभग शून्य कायम राख्न सफल भएका छन्।

प्रधानमन्त्री स्कट मोरिसन

प्रधानमन्त्री स्कट मोरिसन

कार्यान्वयनका चुनौती

खोप अभियानमा तोकिएको न्यूनतम दर लकडाउनबाट बाहिर निस्कने र भाइरससँगै बाँच्ने अस्ट्रेलियाको वृहत् योजनाको हिस्सा हो।

अस्ट्रेलियाको सबैभन्दा ठूलो विमानस्थल रहेको सिड्नी १३ हप्ताको लकडाउनपछि अक्टोबर ११ मा खुल्दैछ।

अहिले मानिसहरूले अत्यावश्यक काम र जीवनको आखिरी क्षणमा रहेका आफन्तलाई भेट्न मात्रै अस्ट्रेलिया छाड्न पाउँछन्।

बीबीसीका शइमा खलिल भन्छिन् देशभित्र र बाहिर रहेका हजारौँ अस्ट्रेलियालीहरूले व्यग्रताका साथ यो घोषणा कुरिरहेका थिए। झन्डै दुई वर्षको एकान्तवासपछि यो धेरैका लागि भावुक क्षण भएकोमा दुई मत छैन।

उनका अनुसार आप्रवासनसम्बन्धी कडा नियमहरूले प्रारम्भिक रूपमा महामारी नियन्त्रण गर्न अस्ट्रेलियालाई सघाए पनि डेल्टा भेरिअन्ट देखिएपछि सबै कुरा परिवर्तन भएको थियो।

अझै पनि वेस्ट्रन अस्ट्रेलिया र क्विन्सलेन्डले भाइरसमुक्त हुने नीति नै अँगालिरहेका छन्। उनीहरूले सबैभन्दा पहिला अस्ट्रेलियाका अरू भूभागसँग सम्पर्क रोक्न सीमा बन्द गरेका थिए।

तर बढी जनसङ्ख्या भएको न्यू साउथ वेल्सले भाइरस निर्मूल पार्नेभन्दा पनि खोप लगाउने नीतिलाई प्राथमिकता दिएका छन्।

त्यसले गर्दा अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयको व्यवहारिक कार्यान्वयन अस्ट्रेलियाका लागि कठिन हुनसक्ने खलिल बताउँछिन्।

 

Share Now

Leave a comment.