Prakash Adhikari October 3, 2021

जिम रीड /स्वास्थ्य संवाददाता

वाशिंटनडीसी(संयुक्त राज्य अमेरिका), १७ असोज(बीबीसी) । परीक्षणमा रहेको मोल्नुपिरभिर नामक एन्टिभाइरल खाने चक्की औषधी एउटा खाने औषधीले कोभिडको गम्भीर लक्षण भएका बिरामीको अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने अन्तरिम क्लिनिकल परीक्षण परिणामले देखाएको छ।

मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो।

अमेरिकी औषधी उत्पादक कम्पनी ‘मर्क’ले परीक्षण परिणाम अत्यन्त सकारात्मक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको जनाएको छ।

उसले अमेरिकामा अबको दुई हप्तामा आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन निवेदन दिने बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको बताउनुभएको छ।

उहाँले अमेरिकी खाद्य तथा औषधी नियामक निकाय एफडीएले त्यो तथ्याङ्क समीक्षा नगरेसम्म भने सावधानी अपनाउन भन्नुभएको छ।

पहिलो खाने औषधी
यदि नियामकहरूले अनुमति दिए भने मोल्नुपिरभिर कोभिड १९ का लागि पहिलो एन्टिभाइरल खाने औषधी बन्नेछ। ‍

शुरूमा इन्फ्लुएन्जा उपचारका लागि विकास गरिएको यो औषधीले भाइरसको जेनेटिक कोडमा परिवर्तन ल्याइदिने गरी डिजाइन गरिएको छ जसले भाइरस शरीरमा फैलनबाट रोक्छ। मोल्नुपिरभिर दिइएका ७ सय ७५ जनामा गरिएको विश्लेषणले देखायो :

  • ७.३ प्रतिशतले अस्पतालमा भर्ना हुनुपरेको थियो।
  • अर्को त्यस्तै औषधी प्लासिबो दिइएकामध्ये १४.१ प्रतिशत मानिसहरू अस्पतालमा भर्ना भएका थिए

मोल्नुपिरभिर दिइएको समूहमा एक जनाको पनि मृत्यु भएन तर प्लासिबो दिइएकामा ८ जनाको मृत्यु भएको थियो
यो तथ्याङ्क एउटा प्रेस विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ तर समकक्षीहरूबाट समीक्षा भइसकेको छैन।

कोभिड खोपमा भाइरसको बाहिर रहेको चुच्चो प्रोटिनलाई निशाना बनाइन्छ भने खाने चक्कीमा भाइरसले सङ्ख्या बढाउने इन्जाइमलाई नै निशाना बनाएको हुन्छ।

यूकेमा एमएसडी नामले चिनिने मर्क कम्पनीले भविष्यमा उत्पत्ति हुने नयाँ भेरिअन्ट विरुद्ध पनि यो चक्की उत्तिकै प्रभावकारी हुने बताएको छ।

दिनको दुई पटक खानुपर्ने मोल्नुपिरभिरले कोभिडका कारण अस्पताल भर्ना हुनुपर्ने र मृत्यु हुनबाट जोगाउन डिजाइन गरिएको हो।

Covid patient in hospital

मर्कका उपाध्यक्ष डारिया हजुडाले भन्नुभएको छ, ‘खोप लगाएका बिरामीलाई एन्टिभाइरस उपचार वा खोप प्रभावकारी नभएका व्यक्तिमा खाने औषधीले काम गर्‍यो भने जारी महामारी अन्त्य गर्न यो ठूलो हतियार साबित हुनेछ।’

परीक्षण परिणामका अनुसार मोल्नुपिरभिर लक्षण देखिने बित्तिकै जति सक्दो छिटो लिन सके उत्तिकै द्रुत गतिमा फाइदा हुनेछ। यस अघिको एउटा परीक्षण गम्भीर कोभिड लक्षण भएर अस्पतालमा भर्ना भएका बिरामीमा औषधी दिँदा निराशाजनक परिणाम आएपछि रोकिएको थियो।

विश्वव्यापी स्वीकृति

मर्क कोभिड विरुद्धको खाने चक्कीको परीक्षण परिणाम सार्वजनिक गर्ने पहिलो कम्पनी हो। अरू कम्पनीहरू पनि खानेचक्कीबारे परीक्षण गरिरहेका छन्। यदि अमेरिकी प्रतिस्पर्धी कम्पनी फाइजरले र स्वीस कम्पनी रोचे पनि त्यस्तै चक्की परीक्षण गरिरहेका छन्।

मर्कले सन् २०२१ को अन्त्यसम्ममा १ करोड चक्की उत्पादन गरिसक्ने बताएको छ। एफडीएबाट अनुमति पायो भने अमेरिकी सरकारले उक्त औषधी १२ अर्बको खरिद गर्ने सहमति गरिसकेको छ।

कम्पनीले यूके लगायत अन्य मुलुकसँग पनि छलफलमा रहेको र न्यून तथा मध्यम आय भएका मुलुकमा पनि उत्पादन गर्न लाइसेन्सको सम्झौता गर्न छलफलमा रहेको जनाएको छ।

किङ्स कलेज लन्डनकी प्रोफेशर पेनी वार्ड परीक्षणमा सहभागी हुनुहुन्थेन। उहाँले भन्नुभएको छ, ‘खोप कार्यदलले जस्तै यो औषधीको कार्यदलले पनि यो औषधीको प्री अर्डर गर्ने ठानिएको छ। त्यसो भयो भने यूकेले खोप लगाइसकेका बिरामीमा हुने कोभिडका बिरामीलाई पनि राम्ररी उपचारको व्यवस्था गर्न सक्नेछ।’

अक्सफर्ड विश्वविद्यालयका सङ्क्रामक रोग विशेषज्ञ प्रोफेशर पिटर हर्बीले भन्नुभएको छ, ‘एउटा सुरक्षित, किन्न सकिने र प्रभावकारी खाने चक्की उपलब्ध हुँदा कोभिड विरुद्धको लडाइमा ठूलो जीत हुनेछ।’

मोल्नुपिरभिरले प्रयोगशालामा राम्रो परिणाम दिएको छ तर वास्तविक परिणाम भने बिरामीहरूमा त्यसको कस्तो प्रभाव हुन्छ त्यसमा निर्भर हुनेछ।

यो चरणमा कैयौँ औषधीले काम नगर्ने गरेको पाइने गरेको छ। अहिलेको अन्तरिम परीक्षण परिणाम भने उत्साहजनक रहेको बताइएको छ।

 

Share Now

Leave a comment.