Prakash Adhikari October 5, 2021

माले(माल्दिभ्स), १९ असोज । दक्षिण एशियाली फुटबल च्याम्पियनसीप अन्तर्गत सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ पराजित गरेको छ ।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे।

श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए।

रोमाञ्चक बनेको खेलको ३३ औं मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यू गोल हो। ५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए।

तर, ह्यामिल्टनले ५७ औं मिनेटमा गोल गर्दै श्रीलंकालाई २-१ को स्थितिमा ल्याए। खेलको ८६ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुसले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए। उनको यो नेपालका लागि पहिलो गोल हो।

https://twitter.com/PrazwolPhuyal1/status/1445086088708591616

त्यसपछि खेलको इन्जुरी समयमा डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३-२ को महत्वपूर्ण जित निकाल्यो।

यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ। लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो।

अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। हिजै भएको पहिलो खेलमा भारत र बंगलादेशले १-१ को बराबरी खेल्दै अंक बाँडे।

पहिलो खेलमा माल्दिभ्यसलाई हराएको नेपाल दोस्रोमा श्रीलंकाविरुद्ध आत्मविश्वासपूर्वक मैदानमा उत्रिएको थियो ।

अल्मुताइरीको बेचैनी र जित पछि नाच

खेलमा श्रीलंकाले सुरुदेखि खेल आफ्नो पकडमा राख्यो । नेपाल निरन्तर दबाबमा पर्दा मैदानबाहिर अब्दुल्लाह तनावग्रस्त देखिएका थिए । एकपटक नेपालविरुद्ध श्रीलंकालाई अम्पायरले फाउल दिएपछि प्रोटेस्ट गर्दा उनले पहेँलो कार्डसमेत खाए ।

खेलमा श्रीलंकाको दवदवाकै बीच नेपालले ३३ औं मिनेटमा गोल निकाल्यो । नेपालका स्ट्राइकर सुमन मल्लले गरेको पहिलो प्रहारलाई श्रीलंकाका गोलरक्षकले सुन्दर बचाउ गरेपछि दोस्रो प्रहारमा उनले गोल गरेका थिए । गोलपछि नेपाली समर्थकहरु खुशीमा झुम्न थाले । यता, प्रशिक्षक अब्दुल्लाहले पनि आफ्नो उत्साह थाम्न सकेनन् । उनी दुवै हात हावामा फैलाएर नाच्न थाले ।
नेपालका लागि अञ्जन विष्टले दोस्रो र आयूष घलानले तेस्रो गोल गर्दा पनि प्रशिक्षक उति नै खुशी भए । खेल अवधिभर प्रशिक्षक अब्दुल्लाह टचलाइनबाहिर नेपाली टिमको हौसला बढाइरहेका थिए ।

प्रशिक्षक अब्दुल्लाहको नाच अहिले टिकटकमा भाइरल भएको छ ।

भावुक स्वभावका अब्दुल्लाहले केही समयअघि प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा यस्तो घोषणा गरे पनि फुटबल संघलाई राजीनामा भने बुझाएनन् ।

साफ च्याम्पियनसीपमा नेपालको प्रदर्शनको जस धेरैले उनलाई नै दिइरहेका छन् ।

Share Now

Leave a comment.