Prakash Adhikari October 5, 2021

 

काठमाडौं, १९ असोज । सत्ता साझेदार दलहरुबीच मन्त्रालय र मन्त्रीको संख्याको विषयमा सहमति जुटेको छ ।

सरकारमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जसपाले ५ । ५ मन्त्रालय भागबण्डा गर्ने गरी शीर्ष तहमा सहमति भएको बताइएको छ ।

उच्च स्रोतका अनुसार कांग्रेसले रक्षा मन्त्रालयको अडान छाडेर स्वास्थ्य, संचार तथा सूचना प्रविधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने भएको छ ।

यसैगरी माओवादी केन्द्रले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषी तथा पशुपंक्षी विकास मन्त्रालय लिने भएको छ ।

माधव नेपालको नवगठित नेकपा(एकीकृत समाजवादीले) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, यूवा तथा खेलकुद र रक्षा मन्त्रालय लिने सहमति बनेको छ ।

उपेन्द्र यादवको जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रसासन, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने सहमति भएको छ ।

अहिले सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा चलिरहेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, संसदको गतिरोध अन्त्य, समसामयीक राजनीतिक अवस्था लगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।

सबै विषयमा सहमति भए बुधबारभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । माओवादी केन्द्रले आज मन्त्रीको नाम टुंगो लगाउन स्थायी कमीटी बैठक बोलाएको छ ।

अब माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री पाउने छ । माओवादी केन्द्रबाट हाल सरकारमा उर्जा मन्त्री र अर्थ मन्त्री नियुक्त भइसकेका छन् ।

यस्तै कांग्रेसले पनि अब तीन मन्त्रालय पाउँने छ । कांग्रेसबाट हाल सरकारमा प्रधानमन्त्री, गृह, कानुन र परराष्ट्रमन्त्री नियुक्त भइसकेका छन् । प्रधानमन्त्री देउवाले कांग्रेसबाटै स्वास्थ्य राज्यमन्त्री समेत नियुक्त गरिसक्नुभएको छ ।

अब जसपा र नेकपा एकीकृत समाजवादीबाट पाँच पाँच जना मन्त्री थपिने छन् ।

Share Now

Leave a comment.