Prakash Adhikari October 17, 2021

उमाकान्त खनाल

चन्द्रगढी(झापा), ३१ असोज । वर्षौँदेखि चिया उत्पादनमा सरकारी लगानी रहे पनि नेपालमा उत्पादित अर्थोडक्स चियाले तेस्रा मुलुकका बजारहरूमा सन्तोषजनक स्थान पाउन सकेको छैन।

नेपालमा वार्षिक ६० लाख केजीभन्दा बढी परिमाणमा अर्थोडक्स चिया उत्पादन हुन्छ।

उक्त परिमाणको करिब १० प्रतिशत मात्र तेस्रा मुलुकहरूमा निर्यात हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकारीहरू बताउँनुहुन्छ।

नेपालमा अर्थोडक्स चिया उत्पादन गर्ने जिल्लाहरूमा इलाम, पाँचथर र धनकुटा मुख्य छन्।

नेपाली अर्थोडक्स चियाको तेस्रा मुलुकहरूमा बजार बिस्तार नहुनुका मुख्य तीन कारण यस्ता छन् ः

१) ‘अर्ग्यानिक’ उत्पादनमा जोड नदिइनु

नेपाल चिया विकास निगम लिमिटेडले विगतमा प्रत्यक्ष व्यवस्थापन गर्दाको बेलामा सरकारी लगानीमा चिया उत्पादन हुने गर्थ्यो।

तर अहिले नेपालको चिया क्षेत्र पूर्ण रूपमा निजी क्षेत्रले व्यवस्थापन गरिरहेको छ।

हाल नेपालमा चिया उत्पादन गर्ने किसानको सङ्ख्या पनि ह्वात्तै बढेको छ। तर अन्तर्राष्ट्रिय बजारमा खपत हुने गुणस्तरको चिया उत्पादनका प्रयास र प्रविधि किसानसम्म पुग्न नसकेको चिया उद्योगी बताउँनुहुन्छ ।

नेपालमा र विदेशका मानिसहरूको चिया पिउने आनीबानीमा धेरै फरक रहेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रबिन राई बताउनुहुन्छ।

“विदेशमा अर्ग्यानिक नै खोज्छन्। चियाको गुणस्तर खोज्छन्। उनीहरूले खोजेको गुणस्तरको प्रमाण पेस गर्न नसक्दा नेपालको चिया बाहिर पठाउन सकिएको छैन।” , राईले भन्नुभयो ।

उहाँका अनुसार रासायनिक मल तथा विषादीरहित उत्पादन गरे पनि नेपालको ुअर्ग्यानिकु प्रमाणीकरण विदेशीहरूले मान्ने गरेका छैनन्।

राईले भन्नुभयो, “विदेशी प्रमाणीकरण नेपाली किसानको पहुँचमै छैन। ठूला उद्योगले प्रमाण जुटाउँछन्। सानाको पहुँच पुग्दैन।”

२) गुणस्तरीय उत्पादनको शिक्षा किसानसम्म नपुग्नु

नेपालको चियाको भारतीय बजारले मात्र नपुगेर अब तेस्रा मुलुकहरूमा बजार विस्तार अनिवार्य भइसकेको इलामको गोर्खा टि स्टेटका सञ्चालक उदय चापागाईंको भनाइ छ।

तर त्यसका लागि चियाको बोटमा हालिने मल र विषादी रासायनिक हुन नहुने उहाँले बताउनुभयो।

चापागाई भन्नुहुन्छ, “यी सबै कुराको ज्ञान सबै किसानसम्म पुग्नु पर्छ।”

“किसानलाई नै जैविक उत्पादनमा प्रोत्साहित गरिएन र उत्पादन जैविक भएन भने विदेश पठाएका चिया फिर्ता आउँछ।”

केन्द्रीय चिया सहकारी सङ्घका महासचिव राईका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको नेतृत्वमा चियाको उत्पादन गुणस्तर बढाउनका लागि चिया क्षेत्र अग्रसर हुन जरुरी छ।

चिया ट्रेडमार्क

३) ‘ब्रान्डिङ’ तथा ‘मार्केटिङु नहुनु’
नेपालको अर्थोडक्स चियाको ९० प्रतिशत हिस्सा भारतीय बजारका मन्डीहरूमा लगेर बेच्ने गरिएको छ।

भारतीय बजारबाट नेपाली चिया भारतकै ‘ब्रान्ड’मा बजारमा बेच्ने गरिएको चिया उद्योगी उदय चापागाईं बताउनुहुन्छ।

तेस्रो बजारहरूमा अहिलेसम्मको बजार विस्तार चिया उद्योगीहरूले गर्दै आएका हुन्।

अहिले भने राष्ट्रिय चिया तथा कफी विकास बोर्डको अगुवाइमा नेपालको आफ्नै ब्रान्ड लोगो ‘नेपाल टीः क्वालिटी फ्रम द हिमालयज’ दर्ता भइसकेर २४ वटा चिया उद्योगले उक्त लोगो पाएका छन्।

उक्त लोगो प्राप्त गर्न अन्तर्राष्ट्रिय बजारमा खपत हुने गुणस्तरको चिया उत्पादन हुनुपर्छ।

तर लोगो पाएर मात्र नभएर उक्त लोगो विभिन्न देशहरूमा दर्ता गराएर बजारीकरण नगरेसम्म नेपालको अर्थोडक्स चिया विदेश निर्यात गर्न नसकिने केन्द्रीय चिया सहकारीका महासचिव राई बताउनुहुन्छ ।

चिया ट्रेडमार्क

कन्याम चिया बगान : चिया विज्ञबिनाको चिया बोर्ड
नेपालमा चिया तथा कफीको उत्पादन तथा प्रवर्द्धनका लागि भन्दै २०५० सालमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो।

तर स्थापना कालदेखि नै बोर्डले जनशक्ति अभावको मार खेप्नु परिरहेको छ।

नेपालमा चिया विषयको पढाइ हुने गरेको छैन। बोर्डका अधिकांश अधिकृत कृषिमा स्नातक गरेकाहरू रहेका बोर्डका सूचना अधिकारी दिपक खनाल बताउनुहुन्छ।

“अधिकृतहरू कृषिका छन्। चिया विषयका विज्ञ छैनन्। १२ जना मेची बहुमुखी क्याम्पसमा चिया विषय पढेका प्राविधिक छन्।”, खनालले भन्नुभयो “, “यत्रो ठूलो चिया क्षेत्रलाई धान्ने जनशक्तिको अभाव त छँदै छ।”

बोर्डमा वार्षिक करिब १२ करोड रुपैयाँ खर्च हुने गरेको खनालले बताउनुभयो। उक्त रकम चिया प्रवर्द्धन र प्रशासनिक खर्चमा खपत हुने गरेको उहाँको भनाइ छ।

त्यस्ता चिया नपढेका कर्मचारीलाई चियाको विषयमा विज्ञता हासिल गर्न विदेश पठाएर विज्ञ बनाउन पर्नेमा कृषि विकास मन्त्रालयका पूर्वसचिव योगेन्द्रकुमार कार्कीले बताउनुभयो।

“त्यति मात्र होइन, नेपाली राजदूतहरूले चिया प्रवर्द्धनका लागि योजना बनाएर हरेक अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालको चियालाई चिनाउनु पर्‍यो।” , कार्कीले भन्नुभयो,”नेपालको चियाको गुणस्तरबारे जानकारी गराउन उहाँहरूको महत्त्वपूर्ण भूमिका हुन्छ।”

Share Now

Leave a comment.