वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १ कार्तिक ।अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड१९ सँग सम्बन्धित जटिलताका कारण निधन भएको छ।
पावेलको ८४ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले घोषणा गरेको छ।
रिपब्लिकन दलसँग आबद्ध रहनुभएका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारीको जिम्मेवारीबहन गरिसक्नुभएको थियो।
सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उहाँ अमेरिकी विदेशमन्त्री बन्नुभएको थियो।
उहाँ नै अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो।
उहाँले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएको जानकारी पावेलको परिवारले वक्तव्यमा दिएको छ।
पावेल अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहनुभएको थियो ।
बीबीसी संवाददाता एलेट्रा निस्मिथ भन्नुहुन्छ, “राष्ट्रिय सुरक्षा सल्लाहकार, संयुक्त सैन्य प्रमुख र त्यसपछि विदेशमन्त्री बनेका कोलिन पावेल सबै तीनवटा पदमा पुग्ने पहिले अश्वेत अमेरिकन हुनुहुन्थ्यो।”
उहाँको लोकप्रियताका कारण अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिको दाबेदार बन्ने ठानिएको थियो।तर एउटा गलत गुप्तचरी सूचनाका आधारमा जबरजस्ती इराक युद्धको निर्णय गरेकाले उहाँको व्यक्तित्त्वमा धब्बा लागेको थियो।
नेपाल नाता
सन् १९५१ मा नेपालसँग कूटनीतिक सम्बन्ध कायम गरेको संयुक्त राज्य अमेरिकाका तर्फबाट पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने पावेल एक मात्र अमेरिकी विदेशमन्त्री हुनुहुन्छ।
माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा सन् २००२ को ज्यानुअरी १८ मा उहाँ नेपाल भ्रमणमा आउनुभएको थियो।
त्यस बेला पावेलले तत्कालीन राजा ज्ञानेन्द्र तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीहरूसँग भेट्नुभएको थियो।


















