काठमाडौं, २ कार्तिक । प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व प्रभुराम शर्माले सम्हालेको पाँच साता पुग्दा उहाँले करिब एक वर्ष अध्ययन गरेको भारतको राष्ट्रिय रक्षा महाविद्यालयको एउटा प्रतिनिधिमण्डल अध्ययन भ्रमणका लागि काठमाण्डौं आइपुगेको छ।
भारतीय सेनाका रियर एड्मिरल धिरेन भिगको नेतृत्वमा आइतवार काठमाडौं आएको ३९ सदस्यीय टोली कार्तिक ६ गतेसम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ।
उक्त टोलीले नेपालका प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम छ।
यो भ्रमण परम्पराको निरन्तरता भएको र यस्ता आदानप्रदानले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ बलियो बनाउने नेपाली सेनाले उल्लेख गरेको छ।
सुरक्षा मामिलाका विज्ञहरूले चाहिँ नेपाल(भारत सम्बन्धमा कैयौँ पेचिला विषयमा गतिरोध देखा परिरहेका बेला यस्ता खालको भ्रमणले दुई सरकारबीच विश्वासको वातावरण बनाउन सक्ने टिप्पणी गरेका छन्।

नेपाली सेना : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उक्त महाविद्यालयबाट एनडीसी गर्नुभएको हो
भ्रमणको स्वरुप
उक्त महाविद्यालय न्याश्नल डिफेन्स कलेज (एनडीसी)का नामले परिचित छ।
त्यसका प्राध्यापक र शिक्षार्थी समेत सम्मिलित टोलीले एक साता नेपालमा रहँदा नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय, पोखरास्थित मध्य कमान्ड हेडक्वार्टर र शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने सेनाले जनाएको छ।
उक्त टोलीले पशुपतिनाथ, मुक्तिनाथ , एभरेस्ट भ्यू नाम्चे सहितका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्याल भन्नुहुन्छ, ूएनडीसी भनेको भारतमा चल्ने सबैभन्दा ठूलो कोर्स हो। त्यसमा सहभागी हुने सबै जना यस्तो भ्रमणमा सहभागी हुन्छन्। उहाँहरू यहाँ मात्र नआएर अन्यत्र पनि जाने गर्नुहुन्छ। योभन्दा अघिल्लो साल कोरोनाभाइरसका कारण नआएको हो। नत्र भने साधरणतया सधैँ एउटा टोली नेपालमा आउँछ।ू
प्रवक्ता पौडेलले अहिलेको भ्रमणलाई नियमित प्रक्रिया भन्दै यो सैनिक कूटनीतिको एउटा अङ्ग र एनडीसी गरिरहेका सैनिक अधिकारीहरूको अध्ययनको एउटा हिस्सा भएको जनाउनुभयो।
नयाँ दिल्लीमा रहेको राष्ट्रिय रक्षा महाविद्यालयको ४७ हप्ता लामो रणनितिक सुरक्षा पाठ्यक्रमको हिस्साका रूपमा पछिल्लो भ्रमणलाई लिनुपर्ने सैन्य मामिलाका जानकारहरू बताउँछन्।
भ्रमणको लक्ष्य
उक्त महाविद्यालयको वेबसाइटका अनुसार विदेशको अध्ययन भ्रमणका क्रममा एनडीसी गरिरहेका शिक्षार्थीहरूले गैरसैनिक र सैनिक दुवै तहका उच्चपदस्थ अधिकारीहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउँछन्।

एनडीसी :एनडीसी भारतीय रक्षा मन्त्रालयमातहत छ
त्यसबाहेक सैन्य, उद्योग, प्रशासन र आर्थिक केन्द्रहरूको भ्रमण गर्ने अवसर पनि मिल्ने महाविद्यालयले जनाएको छ।
यस्तो आदानप्रदानले भ्रमण गरेको देशलाई नजिकबाट बुझ्न र सुमधुर सम्बन्ध विकास गर्न सहयोग पुग्ने महाविद्यालयले जनाएको छ।
नेपालमा रहँदा उक्त भ्रमण दलले प्रधानमन्त्रीसहित सरकारका शीर्ष तहका अधिकारीहरूलाई भेट्ने निश्चित भएको सैनिक मुख्यालयले जनाएको छ।
सैनिक प्रवक्ता पौड्याल भन्नुहुन्छ, “प्रधानमन्त्रीज्यूसँगको शिष्टाचार भेटजस्तै हो। यसअघि पनि रक्षामन्त्रीहरूसँग भेट हुने गरेको थियो। यस्तो भ्रमणमा आउने सदस्यहरूले अन्तरक्रिया गर्ने र अनौपचारिक खालको शिक्षाहरू हासिल गर्ने कुरा नै धेरै हुन्छ।”
एनडीसी कोर्स पूरा गर्नु सेनामा माथिल्लो तहका पदहरूमा पुग्न अनिवार्य मानिन्छ।
नेपाली सेनाका यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापा र अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा दुवैले भारतीय रक्षा महाविद्यालयबाट एनडीसी गर्नुभएको हो।
भारतमा स्पष्ट सन्देश पुर्याउन सहयोगी
त्यहाँबाट नै उक्त कोर्स गरेका नेपाली सेनाका अवकाशप्राप्त उपरथी विनोज बस्न्यात उक्त महाविद्यालय भारतको रक्षा मन्त्रालय अन्तर्गतको एउटा ‘थिङ्क ट्याङ्क’ समेत भएकाले यस्ता अध्ययन भ्रमणहरूको निक्कै महत्त्व हुने बताउनुहुन्छ।
बस्न्यात भन्नुहुन्छ, “सीमासम्बन्धी मुद्दाहरू लगायत कैयौँ पेचिला विषयहरूमा पनि यस्ता भ्रमणले सहयोग पुर्याउँछ। किनभने विज्ञहरूले कुरा राखेका हुन्छन् र नेपाल-भारत सम्बन्धमा कुनै किसिमको चिसोपन छ भने एक प्राज्ञको रूपमा त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरा पनि सुझाव दिइन्छ। यस्तो आदानप्रदानबाट अझ स्पष्ट सन्देश पुग्छ जस्तो मलाई लाग्छ।”
यस्तो अध्ययनपछि भ्रमण दलका सदस्यहरूले महाविद्यालयमा आफ्नो प्रस्तुति दिने उल्लेख गर्दै उहाँले थप्नुभयो, “वहाँ फर्किसकेपछि नेपाल-भारत सम्बन्धमा अहिले किन यस्तो अवस्था देखियो, भारतीय पक्षको अपेक्षानुसार किन भएन अथवा अहिले दुई देशको सम्बन्धमा सीमाका सवालको महत्त्व यति रहेछ भन्ने सबै कुराहरू आउँछ। ती कार्यपत्रहरू त्यहाँबाट भारतीय रक्षा मन्त्रालय हुँदै सम्बन्धित मन्त्रालयहरूमा समेत पुग्छ।”
A 39-member team of faculty, course members and their spouses of National Defence Course-2021 (India) has arrived Kathmandu on October 17, 2021.#IndianArmy #ADGPI #NepaliArmy pic.twitter.com/VeZcggqf9T
— Nepali Army (@NepaliArmyHQ) October 17, 2021
नीति निर्माण गर्ने तहमा पनि भ्रमण दलका निष्कर्षहरू पुग्ने भएकाले आफूले यस्ता आदानप्रदानको महत्त्व देखेको उहाँले बताउनुभयो।
साथै आफूले भारतमा एनडीसी गर्दा बाङ्ग्लादेशको अध्ययन भ्रमण गरेको दृष्टान्त दिँदै त्यहाँका सरकार प्रमुखसहित उच्च अधिकारीहरूसँग भेटवार्ताको अवसर मिलेको उहाँले बताउनुभयो ।
महाविद्यालयमा नेपाल कोटा
भारतीय रक्षा महाविश्वविद्यालयका अनुसार अहिले १ सय १० जनाले त्यहाँ एनडीसी तालिम गरिरहेका छन्।
त्यसमा नेपालसहित २४ वटा देशका सुरक्षा अधिकारी सहभागी छन्।
प्रत्येक वर्ष भारतले उक्त महाविद्यालयमा नेपालबाट एक जनाका लागि कोटा छुट्ट्याएको भए पनि त्यसलाई बढाउन लागिएको गत वर्ष भारतीय रक्षा मन्त्रालयका अधिकारीहरूले बताएका थिए।
महाविद्यालयले सन् २०२२ बाट १ सय २० जनालाई भर्ना लिने भनेसँगै त्यसबाट नेपालले बर्सेनि दुई वटा कोटा पाउने विवरणहरूमा जनाइएको छ।
प्रधानमन्त्री देउवाले सत्ता सम्हालेयता नेपाली सेनाको तालिम तथा नीति हेर्ने निकायका महानिर्देशकले भारतको भ्रमण गरी त्यहाँका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसहित अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो।
यहीबीचमा नेपाली र भारतीय सेनाले बटालियन तहको दुई हप्ता लामो संयुक्त सैन्य अभ्यास पनि गरेका छन्।

नेपाली सेना : केही दिन पहिले मात्रै नेपाली र भारतीय सेनाले भारतमा सूर्य किरण नामक संयुक्त अभ्यास आयोजना गरेका थिए
नेपाली सेनासँग सम्बन्ध बढाउने शक्ति राष्ट्रहरूको चाहना
विगत केही वर्षयता नेपाली सेनासँगको सम्बन्ध विस्तारलाई चीन र अमेरिकासहित पश्चिमा देशहरूले प्राथमिकतामा राखेको विश्लेषकहरूले बताउने गरेका छन्।
पोहोर चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वे फङ्खले एकदिने नेपाल भ्रमण गर्दा सैनिक मुख्यालय भद्रकालीमा औपचारिक भेटवार्ताहरू गर्नुभएको थियो।
करिब नौ घण्टा नेपालमा बिताउँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुभएको थियो।
त्यस बेला कतिपय विश्लेषकले उक्त भ्रमणले नेपाली सेनासँग भारत र अमेरिकाकै स्तरको वा त्योभन्दा अझ निकट सम्बन्ध गाँस्ने बेइजिङको चाहनालाई प्रतिबिम्बित गरेको बताउनुभएको छ।
हाल सीमा विवाद, दार्चुलाको ब्यासमा महाकाली नदी तुइनबाट तर्ने क्रममा एसएसबीका जवानले डोरी काट्दा जयसिंह धामी नदीमा खसेर मृत्यु भएको घटनासहितका कारण नेपाल(भारत सम्बन्धमा गतिरोधहरू देखा परिरहेको बताइन्छ।(बीबीसीबाट)


















