धनगढी(कैलाली), ३ कार्तिक । मनसुन सकिएपछि भएको अविरल वर्षाले निम्त्याएको बाढी तथा पहिरोले जनधनको व्यापक क्षति पुर्याइरहेको अधिकारीहरूले बताएका छन्।
बुधवार बिहानसम्म ८ जनाको ज्यान गएको पुष्टि भइसकेको तथा कैयन् बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभएको छ।
धेरै क्षति सुदूरपश्चिममा भएको बताइएको छ भने त्यहाँ थप मानिसको ज्यान गएको प्रदेशकी आन्तरिक मामिलामन्त्रीले बताउनुभएको छ।
कतिपय ठाउँमा अझै ठूलो वर्षा भइरहेको र ठाउँठाउँका बस्तीहरू डुबानमा परेको बताइएको छ।

पछिल्लो अवस्थाबारे जानकारी दिँदै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भन्नुभएको छ, “मङ्गलवार साँझसम्म हामीलाई ६ जनाको ज्यान गएको विवरण आएका थिए। राति इलाम जिल्लामा पनि थप २ जनाको ज्यान गएको खबर आएको छ।”
X”धेरै ठाउँमा डुबान भएका खबर आएका छन्। कञ्चनपुर अनि मोरङमा डुबान भएका छन्। सुरक्षा टोली उद्धारमा खटिएका छन्। क्षतिका विवरणहरू आइरहेका छन्।”
सुदूरपश्चिम अस्तव्यस्त
सबैभन्दा धेरै क्षति सुदूरपश्चिम प्रदेशमा परेको बताइएको छ।
बुधवार बिहान बीबीसीसँग कुरा गर्दै उक्त प्रदेशकी आन्तरिक मामिला एवं कानुनमन्त्री पूर्णा जोशीले “हाम्रा जीवनकालकै सबैभन्दा ठूलो विपद् सुदूरपश्चिममा” आइलागेको बताउनुभएको छ।
“सुदूरपश्चिम अहिले अस्तव्यस्त छ। यातायात र सञ्चार सम्पर्क धेरै ठाउँमा विच्छेद भएको अवस्था छ। हामी क्षति विवरण सङ्कलन र मानवीय उद्धारमा केन्द्रित भएका छौँ “, प्रदेश मन्त्री जोशीले भन्नुभयो।
बझाङको थलहरामा पहिरोका कारण अझै २३ जना मानिस हराइरहेको उहाँले बताउनुभयो।
उहाँले डोटीमा ९ जनाको ज्यान गएको जानकारी आइपुगेको पनि बताउनुभयो।

बाढीले पुर्याएको क्षति निरीक्षण गर्दै प्रदेशमन्त्री पूर्णा जोशी
बैतडीको ढुङ्गाडमा नदीले एउटा गाउँनै जोखिममा पारेको र करिब ६५ जना मानिस उद्धारको पर्खाइमा रहेको पनि उहाँले बताउनुभयो।
“कञ्चनपुरको भाइरल रोड भनेर चिनिएको ठाउँमा धेरै डुबान भएको छ। त्यहाँको बस्ती हटाउन पहल भइरहेको छ”, जोशीले बताउनुभयो।
प्रतिकूल मौसमले उद्धार तथा राहतमा असर परिरहेको बताइएको छ।
प्रदेश मन्त्री जोशीका अनुसार नेपाली सेनाको हेलिकप्टरहरू प्रयोग गरेर खासगरी बझाङको थलहरा अनि बैतडीको ढुङ्गाडमा उद्धारकार्य गर्ने प्रयास बुधवार पनि जारी राखिनेछ।
मानवीय क्षति बाहेक यातायातका पूर्वाधारहरू अनि कृषिमा अत्यन्त धेरै नोक्सानी पुगेको उहाँले बताउनुभएको छ।
“यातायात पूर्ण अवरुद्ध भएका छन्। विशेषगरी भिमदत्त राजमार्ग अनि बझाङ, बैतडी, अछाम, बाजुरा जाने बाटाहरू अवरुद्ध छन्।”
“पाकेको धान खेतमै कुहिने अवस्था आएको छ।”
पूर्वमा पनि क्षति
अविरल वर्षाका कारण पूर्वी नेपालका मोरङ र सुनसरी जिल्लाका अधिकांश बस्ती समेत डुबानमा परेका छन्।
विराटनगरको सिंघिया र केशलिया खोलामा पानी बढ्दा आसपासका सुकुम्बासी बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ।

विराटनगर विमानस्थल
त्यहाँको विमानस्थल समेत डुबानमा परेको छ।
बाढीले सडक भत्काउँदा कोशी राजमार्गको धरान(धनकुटा सडक खण्ड अवरुद्ध भएको छ।
सुनसरीको दुहबीस्थित विद्युत् प्राधिकरणको सबस्टेशन डुबानमा पर्दा सुनसरी, मोरङ लगायतका जिल्लामा गए रातिदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ।
रातभरि पनि पानी परेका कारण धेरै ठाउँमा क्षति भएको हुन सक्ने तर पूर्ण विवरण आइनसकेको प्रहरीले बताएको छ।(बीबीसीबाट)


















