काठमाडौं, ५ कार्तिक । कार्तिकमा आएको असामान्य परिमाणको वर्षाले देशको पूर्वदेखि पश्चिमसम्मै व्यापक जनधनको ठूलो क्षति पुगेको छ। वर्षाले खासगरी धानबालीमा ठूलो मात्रामा क्षति पुर्याएका विवरणहरू आइरहेका छन्।
ूकतै खडाबाली डुबेका छन् भने कतै काटिसकेका धान डुबेका छन्,ू कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताउनुभयो।
कृषि मन्त्रालयले देशभरिको क्षति विवरण सङ्कलन गरिरहेको र स्पष्ट तथ्याङ्क आइनसकेको उहाले जानकारी दिनुभएको छ।
क्षतिको प्रारम्भिक विवरण
हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार लुम्बिनी प्रदेशको १० जिल्लामा ४२ हजार हेक्टर क्षेत्रफलमा धानबाली प्रभावित भएको र करिब चार अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको जानकारी आएको सन्जेलले बताउनुभएको छ।
त्यस्तै सुदूरपश्चिममा कैलालीमा ५२ प्रतिशत अनि कञ्चनपुरमा ४० प्रतिशत धानबालीमा नोक्सानी भएको विवरण प्राप्त भएको उहाँले बताउनुभयो।
“तर यो सबै प्रभावित भएका धानबाली शतप्रतिशत नोक्सानी नै भएको भन्न मिल्दैन। त्यसका लागि विस्तृत अध्ययन हुनुपर्छ”, उहाँले भन्नुभयो।
खासगरी चाँडै मौसममा सुधार आएर खेतमा जमेको पानीले निकाश पायो भने डुबेका खडाबाली उल्लेख्य जोगाउन सकिने उहाँले बताउनुभयो।
“अहिलेको प्रारम्भिक विवरणअनुसार उत्पादनमा करिब २ लाख मेट्रिक टनको क्षति भएको छ भने त्यसको मूल्य करिब ६ अर्ब रुपैयाँ जति छ”, सन्जेलले भन्नुभयो।
प्रदेश नं १ को हकमा चाहिँ करिब ५० हजार हेक्टर क्षेत्रफलमा असर परेको तर पूर्ण क्षति भने २(३ प्रतिशतकै हाराहारीमा रहने ठानिएको त्यहाँको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिनुभएको छ।
प्रदेश नं २ का पनि कतिपय जिल्लामा असर परेको तर तराई क्षेत्रमा अन्यत्रभन्दा ढिलो धान रोपाइँ गर्ने प्रचलन रहेकाले लामो समय खेत डुबान नभए धेरै क्षति नहुने सन्जेलको भनाइ छ।
कर्णाली प्रदेशमा करिब २० प्रतिशत क्षति पुगेको प्रारम्भिक अनुमान त्यहाँको कृषि निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायाले बताउनुभएको छ।

कर्णाली किसान
धानको योगदान
देशभरिको प्रष्ट विवरण आउन बाँकी नै रहेको भए पनि बेमौसमी वर्षाले किसानहरूलाई निकै क्षति पुर्याएको भने प्रष्ट छ।
यसबाट खासगरी दुईवटा गम्भीर असर पर्न सक्ने पूर्व कृषिसचिव समेत रहेका कृषिविद् हरि दाहालले बताउनुभएकोछ।
“एक त यसले किसानहरूको खाद्यसुरक्षा सङ्कटमा पार्न सक्छ। अर्को नेपालको चामल आयात आगामी दिनमा बढ्न सक्छ”,उनले भने।
यसअघि नै नेपालले आयात गर्ने चामलको परिमाण अचाक्ली बढिरहेको सरकारी आँकडाले देखाएका छन्।
असार मसान्तमा सकिएको अघिल्लो आर्थिक वर्षमा नेपालले ५० अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको थियो। अघिल्लो वर्षमा त्यो जम्मा ३३ अर्बको हाराहारीमा थियो।
दाहालका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा धान एक्लैको योगदान ५ ६ प्रतिशत रहेकाले यसमा हुने नोक्सानीले राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर पर्छ ।(बीबीसीबाट)


















