Prakash Adhikari October 22, 2021

धनगढी(कैलाली), ५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा, डुबानजस्ता प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर सरकार अघि बढ्ने बताउनुभएको छ ।

बेमौसमी वर्षासँगै आएको बाढीपहिरा, डुबान र नदी कटानले पु¥याएको मानवीय तथा भौतिक क्षतिको बिहीबार सुदूरपश्चिम प्रदेशमा स्थलगत निरीक्षण अवलोकन गर्नुभएका उहाँले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विपत्तिबाट पीडितलाई राहत उपलब्ध गराइने र क्षति न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन समाधानका उपाय खोजिने बताउनुभएको हो ।

“बेमौसमी वर्षासँगै उत्पन्न विपत्तिले देशभर नै क्षति पु¥याएको छ”, उहाँले भन्नुभयो, “ यो वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो क्षति भएको छ, धानबालीमा समेत क्षति पुगेको छ ।” प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीपहिरा, डुबानको समस्याबाट पीडित नागरिकलाई राहत दिने निर्णय गरिसकेको उल्लेख गर्दै यस विषयमा काठमाडौँ फर्केपछि पुनः छलफल गरिने बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले कोरोनाविरुद्धको खोप लगाउनमा नेपालले पाएको सफलतालाई विश्व स्वास्थ्य सङ्गठनले धन्यवाद दिएको उल्लेख गर्दै नेपालमा कोरोना रोकथाम हुँदै जाँदा बेलायतलगायत अन्य देशले ‘भिसा’ खुला गरेको बताउनुभयो । अर्को एक प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको कानूनभन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको बताउनुभयो ।

पार्टीको महाधिवेशनका सन्दर्भमा सोधिएको प्रश्नमा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “पार्टीको महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ, निर्वाचन समतिले निष्पक्ष भएर चुनाव गराउने भएकाले यो काममा पार्टी सभापतिको भूमिका हुँदैन ।” उहाँ वर्षासँगै उत्पन्न बाढीपहिरो, डुबान, नदी कटानबाट डोटी, बझाङ, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लामा भएको क्षतिको बिहीबार स्थलगत निरीक्षण अवलोकन गरेर आज काठमाडौँ फर्किनुभएको छ ।

प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर सहभागी हुनुहुन्थ्यो । यही असोज ३१ गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरा र डुबानका कारण सुदूरपश्चिम प्रदेशमा आजसम्म ३१ को मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता भएका छन् । १७ घरमा पूर्ण क्षति पुगेको छ ।

तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानले हजारौँ परिवार विस्थापित भएका छन् भने ठूलो क्षेत्रफलको जग्गामा रोपिएको बर्खे धानबाली नष्ट भएको छ ।

महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताउनुभएको छ ।

शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट्ने बताउनुभएको हो ।

“सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बाढीपहिराले ठूलो क्षति पु¥याएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “सिमित स्रोतसाधनका बाबजुत पनि पीडितलाई राहत दिन्छौँ ।” मन्त्रिपरिषद्को निर्णयबाट केही दिनअघि राहत व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले बाढीका कारण पूर्वाञ्चललगायत देशभरका विभिन्न स्थानमा क्षति पुगेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कञ्चनपुरको महाकाली तटीय क्षेत्र र दोधारा–चाँदनीमा विगतमा पनि नदी कटानको समस्या रहेको चर्चागर्दै कैलाली कञ्चनपुरमा धानबालीमा ठूलो क्षति पुगेको बताउनुभयो । निरीक्षणपछि प्रधानमन्त्री देउवालाई जिल्ला सुरक्षा समितिले बाढीको क्षति र वस्तुस्थितिका बारेमा जानकारीसमेत गराएको छ ।

सुदूरपश्चिमको बाढीपहिराको क्षति र पीडितको अवस्था बुझ्न बिहीबार यहाँ आउनुभएका प्रधानमन्त्री देउवाले डोटी, बझाङ, बैतडी र डडेल्धुरामा निरीक्षण गर्नुभएको थियो ।

Share Now

Leave a comment.