Prakash Adhikari October 23, 2021

 

काठमाडौं, ६ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरामाथि न्यायाधीश, वकिल र राजनीतिक तीनै कोणबाट आक्रमण सुरु भएको छ ।

उहाँको पछिल्ला कार्यशैलीको आलोचना गर्दै शुक्रवार कानुन क्षेत्रका दुई सङ्गठनले विज्ञप्ति नै निकालेका छन् ।

सोह्रबुँदे विज्ञप्तिमार्फत् पूर्वन्यायाधीश फोरमले एकपछि अर्को विवादमा तानिएको भन्दै प्रधानन्यायाधीशले निकाश दिनुपर्ने बताएको छ।

नेपाल बार एशोसिएशनले पेसी तोक्ने स्वचालित वा गोलाप्रथा प्रणाली लागू गर्नुपर्ने प्रतिबद्धताका लागि १५ दिने समयसीमा तोक्दै त्यसो नभएमा बारले “न्यायिक नेतृत्वलाई विश्वास गर्न सकिने अवस्था नरहने” जनाएको छ।

एकजना संविधानविद्ले न्यायिक नेतृत्वमै प्रश्न उठेको र उसले समस्या समाधान गर्ला भन्ने विश्वास समेत कानुनवृत्तमा नदेखिएको बताउनुभएको छ।

“यति ठूलो वृत्तले शङ्का गरेपछि त्यसबारे वहाँका आफ्ना दृष्टिकोण भए पनि विश्वास आर्जन गर्न नसकेका कारण वहाँले राजीनामा दिनु राम्रो हुन्छ”, प्रा. डा. विपिन अधिकारी बताउनुहुन्छ ,”त्यसरी सोच्नुभएन भने अबको बाटो प्रतिनिधिसभाले जिम्मेवारी वहन गर्नुपर्छ।”

पूर्वन्यायाधीशहरूले चाहेको निकास कस्तो हो ?

न्यायपालिकाको नेतृत्वमा आएयता कहिले इजलास गठन त कहिले फैसलाका विषयलाई लिएर विवादमा पर्दै आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निकाश दिनुपर्ने पूर्वन्यायाधीशहरूको एउटा समूहको निष्कर्ष छ।

निकाशको अर्थबारे पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले बीबीसीसँग भन्नुहुन्छ, “त्यो राजीनामा मात्रै भनिएको होइन वहाँले सुधार गर्छु भन्ने पनि हुन्छ।”

उक्त समूहले समेत प्रधानन्यायाधीशले निकाश नदिए उनका सम्बन्धमा उठेका सबै विवादहरूको निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभाले आफ्नो कर्तव्यका लागि अग्रसर हुन आह्वान गरेको छ।

फोरमका अध्यक्ष सिंहले थपे, “प्रतिनिधिसभाले छानबिन गरोस् र उचित के हुन्छ निर्णय गरोस् भन्ने हो।”

सर्वोच्च अदालत

सर्वोच्च अदालत

प्रधानन्यायाधीशलाई विपक्षी बनाइएको मुद्दाको सुनुवाइ ११ महिनासम्म हुन नसकेकोदेखि तिनमा आफैँ न्यायकर्ता हुने अभिरुचि र प्रयास देखिएको, न्यायिक नेतृत्व र दलीय भगबन्डाका भरमा सर्वोच्चमा न्यायाधीश नियुक्ति गरिएका जस्ता विषयहरू फोरमको विज्ञप्तिमा उल्लिखित छन्।

श्रीमतीको हत्यामा पूर्व डीआईजीले भोगिरहेको सजाय घटाउने सर्वोच्चको निर्णयविरुद्ध पुनरवलोकन निवेदन,त्यसमा पेसी सूचीको निर्धारणमा मनोमानी गरिएको, पत्नीहत्याको सजाय झेलिरहेका रञ्जन कोइरालाको कैद घटाएको, तक्मा लिएको, मन्त्रिपरिषद् गठनको विषयमा प्रधानन्यायाधीश पनि जोडिएको आदि विषयहरू पनि उठाइएको छ।

पछिल्लो पटक खासगरी प्रधानन्यायाधीशले शक्ति पृथकीकरणको मर्यादा उल्लङ्घन गरेर सरकार विस्तारमा भाग खोजेको भन्ने आरोप उहाँमाथि लागेको थियो।

यसअघि मन्त्रिपरिषद्‌ विस्तारमा प्रधानन्यायाधीशको पनि भूमिका रहेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचारहरू आएपछि सर्वोच्च अदालतले त्यस्ता आरोपको खण्डन गर्दै एउटा विज्ञप्ति जारी गरेको थियो।

बारको जोड पेसी प्रणालीमा
वकिलहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले समेत शुक्रवार नै स्वचालित पेसी प्रणाली लागु गराउने लगायतका सम्बन्धमा दिएको सुझावका कार्यान्वयन गर्न ध्यानाकर्षण गरेको छ।

सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले समावेश गरी तयार गरेको प्रतिवेदन लागु गराउनेबारे प्रधानन्यायाधीशले प्रतिबद्धता जनाए पनि अदालतको फुलकोर्टबाट निर्णय गराउन तदारुकता नदेखाएको महसुस भएको बारको भनाइ छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा

उक्त प्रतिवेदन लागु गराउने समयसीमासहितको प्रतिबद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र आउनुपर्ने माग नेपाल बार एशोसिएशनले गरेको छ।

बारले आफ्नो विज्ञप्तिमा अदालतको पेसी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भइरहेको व्यवस्थाबाट ‘कतिपय गलत कार्यहरू भइरहेको’ जनाएको छ।

महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा सोको सट्टामा स्वचालित पेसी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न कठिन प्राविधिक रूपले केही समय लाग्ने भएमा सम्पूर्ण अदालतहरूमा गोला प्रणालीबाट पेसी तोक्न सुझाव दिइएको जनाइएको छ।

चोलेन्द्र शम्शेर जबराको विगत र वर्तमान

चोलेन्द्र शम्शेर जबराको जन्म मंसिर २०१४ मा कालिकास्थानमा भएको सर्वोच्च अदालतको वेबसाइटमा प्रकाशित विवरणमा उल्लिखित छ।

उनले नेपाल ल क्याम्पसबाट डिप्लोमा इन ल (डीएल) गर्नुभएको छ ।

ओमप्रकाश मिश्र सेवानिवृत्त भएपछि जबरा पौष २०७५ मा प्रधानन्यायाधीश बनेका बन्नुभएको थियो।

उहाा वैशाख २०५३ मा जनकपुर पुनरावेदन अदातलमा अतिरिक्त न्यायाधीश बनेर न्यायसेवामा प्रवेश गर्नुभएको हो। त्यसअघि उहाँ अधिवक्ताका रूपमा काम गर्नुहुन्थ्यो।

तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावलाई अघि नबढाउन तथा उहाँलाई काममा फर्काउन वैशाख २०७४ मा आदेश दिएपछि जबरा चर्चामा आउनुभएको थियो।

जबराले झन्डै दुई दशकअघि विराटनगर पुनरावेदन अदालतमा न्यायाधीश हुँदा एउटा मुद्दामा तासको खेल ‘म्यारिज’ जुवा नभएको फैसला गरेका गर्नुभएको थियो। उहाँको उक्त फैसला पनि निकै चर्चित भएको थियो।

प्रतिनिधिसभाको दोस्रो विघटनको फैसला गर्दा प्रधानमन्त्री नियुक्तिमा व्यक्ति किटान गरिएको भन्दै उहाँ विरुद्ध राजनीतिक वृत्त खास गरी नेकपा एमालले चर्को आलोचना गर्दै आइरहेको छ ।

 

Share Now

Leave a comment.