Prakash Adhikari October 24, 2021

आबुधावी(संयुक्त अरब इमिरेट्स), ६ कार्तिक । टी २० विश्वकप अन्तर्गत सुपर १२ चरणको पहिलो दिनको खेलमा इंग्ल्यान्डले वेष्ट इण्डिजबिरुद्ध कीर्तिमानी जित निकालेको छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा शनिवार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।

खेलमा वेस्टइन्डिजले दिएको ५६ रनको लक्ष्य इंग्ल्यान्डले ४ विकेट क्षतिमा ८.२ ओभरमै पूरा गर्यो।

७० बल बाँकी रहँदै खेलमा विजय हासिल गरेको इतिहास इंग्ल्यान्डको टी २० अन्तर्राष्ट्रिय इतिहासमै फराकिलो जित हो। यस अघि इंग्ल्यान्ड सन् २०१९ मा वेस्टइन्डिजले दिएको ७२ रनको लक्ष्य ५७ बल बाँकी रहंदा भेटाएको थियो ।

जम्मा ५६ रनको लक्ष्य पाएको इंग्ल्यान्डको लागि शनिवार ओपनर जोस बटलरले सर्वाधिक २४ रन, जेसन रोयले ११, जोनी बेयरस्ट्रोले ९ तथा कप्तान ओएन मोर्गनले अविजित ७ रन बनाए।

इंग्ल्याण्डलाई रोक्ने क्रममा वेस्टइन्डिजको बलिंगमा अकेल होसेनले २ विकेट तथा रभी रामपौलले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले १४.२ ओभरमा सबै विकेट गुमाउदै ५५ रन जोडेको थियो । यो योगफल वेस्टइन्डिजको टी २० विश्वकप इतिहासकै सबैभन्दा कम योगफल हो भने समग्रमा टी २० विश्वकप इतिहासकै तेश्रो कम योगफल हो।

यस्तै वेस्टइन्डिजको टी २० अन्तर्राष्ट्रिय इतिहासको यो दोश्रो कम योगफल हो। वेस्टइन्डिजले सबैभन्दा कम २०१९ मा इंग्ल्यान्ड बिरुद्धनै वेस्टइन्डिजले ४५ रन बनाएको थियो। टी २० विश्वकपमा यो भन्दा थोरै नेदरल्याण्डले २०१४ मा ३९ तथा जारी विश्वकपमा श्रीलंका बिरुद्ध ४४ रन बनाएको थियो।

वेस्टइन्डिजको लागि क्रिस गेलले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। खेलमा शेमरन हेत्मेयरले ९ , कैरन पोलार्ड, इभिन लेविस र अकिल होसेनले ६ /६, द्धैयन ब्राभोले ५, लेण्डि सिमेन्स र रभि रामपौलले ३ / ३ र ओभिड म्याकवेले १ रनको योगदान दिए ।

वेष्ट एण्डिजलाई रोक्ने क्रममा इंग्ल्यान्डका आदिल रशिदले सर्वाधिक ४ टाईमल मिल्स र मोईन अलीले २ / २ तथा क्रिस वोक्स र क्रिस जोर्डनले समान १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत इंग्ल्यान्डले दोश्रो खेल अक्टोबर २७ तारिखमा बंगलादेशसंग तथा वेस्टइन्डिजले अक्टोबर २६ तारिखमा दक्षिण अफ्रिका खेल्ने तालिका रहेको छ।

आइतबार श्रीलंका र बंगलादेश तथा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ।

Share Now

Leave a comment.