Prakash Adhikari October 24, 2021

 

लण्डन(संयुक्त अधिराज्य), ७ कार्तिक । कतिपयले डेल्टा प्लस भनिरहेको कोरोनाभाइरसको नयाँ उत्परिवर्तित स्वरूप डेल्टा भेरिअन्टभन्दा झन् सहज रूपमा फैलिन सक्ने यूकेका विशेषज्ञहरूले बताएका छन्।

यूकेको हेल्थ सिक्यूरिटी एजेन्सी (यूकेएचएसए)ले उक्त नयाँ प्रकारको कोरोनाभाइरसलाई ‘अनुसन्धानको क्रममा रहेको भेरिअन्ट’का रूपमा वर्गीकरण गरेको छ।

यसले गम्भीर रूपमा बिरामी पार्न सक्ने विषयबारे प्रमाण भने फेला परेको छैन।

अनि हाल उपलब्ध रहेका खोपहरूले मानिसहरूलाई जोगाउन सक्ने विषयमा वैज्ञानिकहरू विश्वस्त छन्।

यूकेमा देखिएका कोरोनाभाइरस सङ्क्रमणमा डेल्टा भेरिअन्ट नै बढी पाइएको भए पनि ‘डेल्टा प्लस’ वा AY.4.2 बाट सङ्क्रमित भएका मानिसहरू फेला पर्ने क्रम बढिरहेको छ।

पछिल्लो आधिकारिक तथ्याङ्कका अनुसार ६ प्रतिशत कोभिड डेल्टा प्लस कोरोनाभाइरसले गराएको छ।

विज्ञहरूले यो व्यापक रूपमा फैलिन वा यसले अहिले उपलब्ध खोपहरूलाई छल्न सक्ने सम्भावना नरहेको जनाएका छन्।

यद्यपि अधिकारीहरूले यूकेमा डेल्टा भेरिअन्टको तुलनामा सङ्क्रमणको यो नयाँ प्रकार बढ्ने दर बढी हुनसक्ने केही प्रारम्भिक प्रमाण रहेको जनाएका छन्।

कोरोनाभाइरसका विभिन्न भेरिअन्टहरू

तर डेल्टा भेरिअन्टजस्तो यसलाई जोखिमको तहका हिसाबले सबैभन्दा खतरनाक भेरिअन्ट अफ कन्सर्न का रूपमा भने वर्गीकरण गरिएको छैन।

विश्वमा कोरोनाभाइरसका हजारौँ भेरिअन्टहरू फैलिरहेका छन्। भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरिअन्ट देखा पर्नु आश्चर्यजनक विषय होइन।

अमेरिकामा पनि डेल्टा प्लस भेरिअन्टका कारण भएका सङ्क्रमणहरूको पहिचान भएको छ। डेन्मार्कमा पनि यो भेरिअन्ट देखिएको छ तर त्यहाँ भने यो फेला पर्ने क्रम घट्दै गएको छ।

यूकेमा उच्च जोखिममा भएका मानिसहरूको रक्षा गर्नका लागि कोभिड १९ विरुद्ध खोपको बूस्टर अर्थात् अतिरिक्त मात्रा जाडो याम सुरु हुनअगावै दिइँदैछ।

अहिले विद्यमान भाइरसका विभिन्न भेरिअन्टबाट जोगिनका लागि उपलब्ध खोपहरूलाई परिमार्जन गर्नुपर्ने आवश्यकताबारे विज्ञहरूले केही भनेका छैनन्।

भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ ?

यूकेएचएसएका प्रमुख कार्यकारी डा. जेनी हेरीज भन्छिन्, “सबै भेरिअन्टका हकमा जनस्वास्थ्यसम्बन्धी सुझावहरू एकै छन्।”

“खोप लगाउनुहोस् र समय आउनासाथ योग्य व्यक्तिहरू तेस्रो वा बूस्टर मात्राका लागि आउनुहोस्।”

“सावधानी अपनाइरहनुहोस्। भिडभाडमा वा मानिसहरूलाई बन्द कोठामा भेट्दा मास्क लगाउनुहोस्। कोठाका झ्यालढोका खुला राख्नुहोस्। लक्षण देखिए पीसीआर परीक्षण गर्नुहोस् र नेगेटिभ नतिजा नआउन्जेल एक्लै बस्नुहोस्”, उहाँले भन्नुभएको छ।

कोभिड
के खोपहरूले सबै नयाँ भेरिअन्टविरुद्ध काम गर्छन् ?

अहिले प्रयोग भइरहेका खोपहरू कोरोनाभाइरसको पहिलो संस्करणविरुद्ध बनाइएको थियो। त्यसैले वर्तमान खोपले नयाँ भेरिअन्टहरूविरुद्ध पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने सम्भावना कायम रहन्छ।

तर विज्ञहरूले ती सबै खोपले अझै पनि गम्भीर रोग र मृत्युको सम्भावनालाई कम गर्ने बताएका छन्।

केही महिनाअघि ब्रिटेनको पब्लिक हेल्थले गरेको एक विश्लेषणका अनुसार फाइजर वा आस्ट्राजेनेका खोपको दुई मात्रा डेल्टा भेरिअन्ट सङ्क्रमितलाई अस्पताल भर्ना हुनबाट जोगाउन ९० प्रतिशतभन्दा बढी प्रभावकारी छ।

सोही खोपको एक मात्रा डेल्टा सङ्क्रमितको तुलनामा अल्फा सङ्क्रमितमा बढी प्रभावकारी देखियो।

चिकित्सकहरूले हाल पुष्टि भएका र उत्परिवर्तन भइरहेका भेरिअन्टबाट जोगिन खोपको दुवै मात्रा लगाउनु अत्यावश्यक भएको बताएका छन्।

भाइरसका नयाँ स्वरूपविरुद्ध काम गर्न हालका खोपहरूलाई नै पुनः डिजाइन गर्न सकिनेमा विज्ञहरू ढुक्क छन्।

कोरोनाभाइरसका विभिन्न भेरिअन्टहरू

Share Now

Leave a comment.