Prakash Adhikari October 26, 2021

शारजहाँ(संयुक्त अरब इमिरेट्स), ९ कार्तिक । टी २० विश्वकप क्रिकेटको सोमबारको खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १ सय ३० बलको अन्तरले पराजित गरेको छ ।

युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०.२ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो।

स्कटल्याण्डले बनाएको ६० रन टी २० विश्वकप इतिहासकै संयुक्तरुपमा चौंथो कम योगफल हो भने स्कटल्याण्डको सबैभन्दा कम योगफल।

१ सय ३० रनको जित अफगानिस्तानको टी २० अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो रन अन्तरको जित हो। यस अघि अफगानिस्तानको ठूलो रन अन्तरको जित केन्या बिरुद्ध २०१३ मा १ सय ६ रनको थियो।

लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डका ओपनर जर्ज मुनसे र कायल कोट्जरले २५ र १० तथा क्रिस ग्रिभ्सले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ५ जना ब्याट्सम्यान खाता समेत नखोली पेभेलियन फर्किए।

मुनसे र कोट्जरले २८ रनको ओपनिंग साझेदारी गरेपछि चौंथो ओभरमा मुजिबले ३ विकेट लिंदै अफगानिस्तानलाई खेलमा हावी गराए। त्यसपछि मुजिब र राशिद खानले लगातार विकेट लिंदा स्कटल्याण्ड ब्याट्सम्यानहरु निरिह सावित भए।

स्कटल्याण्डलाई रोक्ने क्रममा अफगानिस्तान स्पिनर मुजिब उर् रहमानले ५ विकेट लिए भने राशिद खानले ४ विकेट लिए । त्यस्तै नभिन उल हकले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १ सय ९० रन बनाएको थियो। टी २० विश्वकप इतिहासमा अफगानिस्तानको यो सर्वाधिक टिम योगफल हो भने भने जारी विश्वकपको पनि सर्वाधिक योगफल हो।

अफगानिस्तानको ब्याटिंगमा नजिबुल्लाह जर्दानले ५९ रन बनाए । त्यस्तै रहमनुल्लाह गुर्बजले ४६ रन, हर्जतुल्लाह जजाईले ४४ रन, मोहम्मद शाहजादले २२ र मोहम्मद नाबीले ११ रन बनाएका थिए ।

अफगानिस्तानलाई रोक्ने क्रममा स्कटल्याण्ड बलर सफ्यान सरिफले २ विकेट, मार्क वाट र जोश डेभिले समान एक विकेट लिए।

 

Share Now

Leave a comment.