जोमसोम(मुस्ताड.),१७ फागुन । हिमालपारिको जिल्ला मुस्ताङमा थकाली समुदायको ऐतिहासिक पर्व तोरन्ल अर्थात फागु पूर्णिमा बुधबारदेखि सुरु भएको छ।
सदरमुकाम जोमसोममा सुरु भएको ‘तोरन्ल’ लगातार तीन दिनसम्म धुमधामका साथ मनाइने स्थानीय निरजथिन थकालीले जानकारी दिए।
यस पर्वले थकाली सभ्यता र संस्कृतिको संरक्षण गर्दै सभ्यता र पहिचानमा महत्त्वपूर्ण योगदान दिने स्थानीय थकाली समुदायको भनाइ छ।
तोरन्ल अवधिमा परम्परागत तारा खेलिसकेपछि तारालाई कालीगण्डकी नदीमा लगेर बिसर्जन गरिन्छ।
यो पर्व मनाउनका लागि थकाली समुदायका प्रत्येक घरहरूलाई बेहुलीझैँ सिंगार्नुका साथै थकाली समुदायमा प्रयोग हुने भाँडाकुँडाहरू पनि सफा र चम्किलो बनाइएको हुन्छ। तोरन्लको मुख्य विशेषता परम्परागत तारा खेल मानिन्छ।
पर्व अवधिभर थकाली समुदायका मानिस एकआपसमा एकत्रित भई परम्परागत तारा र कोडा खेल्ने प्रचलन रहेको छ।
यस पर्वमा थकाली समुदायका मानिसले निराहार बसेर पूर्णिमाको अघिल्लो दिनदेखि पूर्णिमाको भोलिपल्टसम्म प्रत्येक मध्यरातमा आफ्ना दिवंगत पितृको सम्झना गर्दै फलफूल तथा खानेकुराका परिकार चढाउने गर्दछन्। पितृको नाममा पूजा गर्ने र खानेकुराका परिकार चढाउनाले दिवंगत आत्माले मुक्ति पाउने र चढाइएका खानेकुराहरू उनीहरूले प्राप्त गर्ने जनविश्वास छ।
यस अवधिमा आफ्ना इष्टमित्र तथा थकाली समुदायका मानिसहरू आपसमा भेला भएर मीठा परिकार खाने र आपसमा रमाइलो गर्ने गर्दछन्। तल्लो मुस्ताङका थकाली चारचन र अन्य थकाली समुदायले फागु पूर्णिमा पर्वलाई तोरन्ल पर्व भन्ने गर्छन्।
त्यसैगरी तीनगाउँले थकाली समुदायले त्युंल पर्व र मार्फाली समुदायका थकालीले तेरमी पर्व भनेर मनाउने गर्दछन्। तोरन्लअन्तर्गत तारा खेलको सुरुवात जोमसोमका गाउँ मुखिया रामप्रसाद थकालीले तीर (धनुषवाण) प्रहार गरेर उद्घाटन गरेका थिए।