Prakash Adhikari November 1, 2021

माधव नेपाल

बुटबल (रुपन्देही), १५ कार्तिक । ६ अर्ब रुपैयाँ लागत रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँको मूर्ति स्थापना गरिएको छ। बुद्धको उक्त मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएको हो।

म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।

उक्त मूर्तिलाई विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको विमानस्थलका योजना प्रमुख प्रवेश अधिकारीले बताउनुभएको छ ।

आइतवार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सो मूर्तिको अनावरण गर्नुभएको छ ।

मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी विश्वको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको थियो।

म्यानमारबाट भारतको कोलकाता हुँदै नेपाल ल्याइएको सो मूर्तिको मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेको लुम्बिनी गार्डेन फाउन्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनुभएको छ।

उक्त मूर्ति निर्माणका लागि म्यानमारको खानी सम्बन्धी एक कम्पनी मालवीन समूह लगायत बुद्ध धर्ममा आस्था राख्ने विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूले सहयोग गरेको बताइएको छ ।

सो मूर्तिको तौल झन्डै २ हजार किलोग्राम रहेको बताइएको छ। १ दशमलव ९ मिटर उचाइ रहेको भनिएको मूर्तिको चौडाइ ६० सेन्टिमिटर रहेको दाबी गरिएको छ।

मूर्ति

भगवान गौतमबुद्धको मूर्ति

विमानस्थल भित्र जाने र बाहिर निस्कने मुख्य गेटको बीचमा राखिएको यो मूर्तिलाई अहिले सिसाको फ्रेम भित्र राखिएको छ ।

मूर्तिले विमानस्थल हुँदै यात्रा गर्नेहरूलाई लुम्बिनी प्रवेश गरेको अनुभूति दिलाउने विश्वास पनि लुम्बिनी गार्डेन फाउन्डेशनले गरेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी विमानस्थलबाट करिब २० किलोमिटर पश्चिममा पर्छ। मूर्तिको सुरक्षाका लागि २४ घण्टा सुरक्षाकर्मीहरूको व्यवस्था गरिएको छ ।

विमानस्थल निर्माणको लागि पहिलो चरणमा ६ अर्ब २२ करोड रुपैयाँमा एक चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । मूर्तिको लागत भने उक्त सम्झौतामा समावेश छैन।

स्पेनमा रहेको एक गैरसरकारी संस्था लुम्बिनी गार्डेन फाउन्डेशनको पहलमा विमानस्थललाई निःशुल्क रूपमा मूर्ति उपलब्ध गराइएको हो ।

अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम लगभग पूरा भएको योजना प्रमुख प्रवेश अधिकारी बताउँछन्।

तर काम सकिए पछि गरिनुपर्ने परीक्षण उडान हुन नसकेको कारण नियमित उडानको टुङ्गो भने लागेको छैन।(बीबीसीबाट)

Share Now

Leave a comment.