राष्ट्रपतिको उम्मेद्वार तय गर्न नेकपा एमालेका स्थायी कमिटी बैठक आज(मंगलबार) अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बुधबार राष्ट्रपतिको उम्मेदवारी मनोनयन हुने भएकोले आजसम्म उम्मेदवार टुंगो लगाउने पर्ने अवस्था छ । सरकार संसदभित्रको राजनीतिक समिकरणका कारण छिटो परिवर्तन हुने भएपनि अब निर्वाचित हुने राष्ट्रपति, उपराष्ट्रपतिलाई कसैले हल्लाउन सक्ने छैन । यस मध्ये बामगठबन्धनको प्रमुख राजनीतिक शक्ति एमालेले भागवण्डामा पाएको मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा कसलाई उठाउला ! सर्वाधिक चासोको विषय बनेको छ, एक राजनीतिक विश्लेषण ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरे संगै देशको सर्वोेच्च पदको अभिभावकमा को पुग्ला भन्ने चासो आम नागरिकमा उत्पन्न भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरुले निर्वाचित गर्ने मुलुकको यो सर्वोच्च पदमा हालै सम्पन्न निर्वाचनको प्रतिछाया पर्ने निश्चित जस्तै छ ।
दुई नम्बर प्रदेश बाहेकका ६ वटै प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा दुवै निकायमा बाम गठबन्धनको वर्चश्व रहेकोले बामगठबन्धनका उम्मेद्वार नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा विजयी हुनेमा कुनै द्धिविधा पनि देखिदैन ।
त्यसमाथि प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा प्रदेश २ मा अधिक सीट जितेको सघीय समाजबादी पार्टीलाई समेत सरकारमा सामेल गर्ने बामगठबन्धनको प्रयास जारी रहेकोले सत्ता पक्षले उठाउने उम्मेदवारको जित्ने संभावना बढी छ ।
संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाका साथै सातवटै प्रदेशमा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले उठाउने उम्मेद्वार प्रतिकात्मक मात्र रहने अवस्था छ । एमाले र माओेवादीबीच फाटो परेको भए वा मधेशवादी दलहरुसंगको एमाले सम्बन्ध तिक्ततापूर्ण रहेको भए नेपाली कांग्रेसले उठाउने उम्मेद्वारको पनि विजयी हुने संभावना प्रबल हुने थियो ।पहिलो संविधान सभामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी दिनुभएका डा. रामवरण यादव यस्तै अन्तरविरोधका बीचमा पहिलो राष्ट्रपतिमा विजयी बन्नुभएको थियो ।
राष्ट्रपतिको संवैधानिक भूमिका
आलांकारिक नै भए पनि नेपालको संविधानले राष्ट्रपतिलाई सर्वोच्च र मर्यादित स्थानमा राखेको छ । लोकतान्त्रिक गणतन्त्रको लगभग एक दशकको अनुभवमा मुलुकमा लोकतान्त्रिक शासन पद्धति,शान्ति,सुव्यवस्था,सुशासन कायम राख्न राष्ट्रपतिबाट निर्णायक कदम चालिएका उदाहरण पनि छन् । माओवादीका तात्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको सरकारको विना कुनै अभियोग प्रधानसेनापति फेर्ने लहडी र राजिनीतिक ढंगले दुरासयपूर्ण कदमलाई तात्कालीन राष्ट्रपति डा= रामबरण यादवले निस्तेज पारिदिएको नजीर पनि हाम्रोसामु छदैछ ।
राष्ट्रपति संविधानको संरक्षकका साथै देश र जनताको अभिभावक भएकोले राजनीतिक दलको संकीर्ण घेराबाट माथि उठ्नुपर्नेमा कुनै विवाद छैन् । दलको दायराबाट उम्किन नसक्ने व्यक्तित्वले संविधानले परिकल्पना गरेको भूमिका निर्वाह गर्न सक्दैन् । जसरी अभिभावकका लागि सबै सन्तान समान हुन्छन्, त्यसरी नै राष्ट्रपतिका लागि मुलुकका सबै राजनीतिक दल, नागरिक, संबैधानिक अंग,प्रशासनिक र शासकीय निकाय समान हुनुपर्दछ ।
सविधानले दिएको अभिभावकीय दायित्व लिएर दलहरुका बीचमा, नागरिकहरुका बीचमा, संवैधानिक निकायहरुका बीचमा, सुरक्षा निकायहरुका बीचमा,प्रशासनिक निकाय र पदाधिकारीहरुका बीचमा,संघीय र प्रादेशिक सरकार र संसदका बीचमा, स्थानीय निकायका बीचमा, शैक्षिक र व्यवसायिक संस्था र प्रतिष्ठानका बीचमा भेदभाव, उच-नीच, आफ्नो-पराईको व्यवहार गर्न थालियो भने त्यसले मुलुकमा कायम भएको र हुनुपर्ने शान्ति,सुव्यवस्था,सुशासन र अमन चैनमा असर पुर्याउछ ।
भेदभावपूर्ण व्यवहारले हिंसा समेत निम्त्याउने अवस्था रहन्छ। एक दशकभन्दा लामो हिंसात्मक द्धन्द्धबाट भर्खर तग्रिन लागेको नेपालका सबै राजनीतिक दलहरु यसमा चनाखो र सतर्क रहनै पर्दछ । संसदीय राजनीतिमा विश्वास नगर्ने नेत्रविक्रम चन्द ”विप्लव र माहन बैद्य समूहका कम्युनिष्ट पार्टीहरुको एकीकरण र संगठित हुने उद्घोष र तराईमा विखण्डनको बीजारोपण गर्ने सी.के. राउत प्रवृत्ति २०५२ सालको माओवादी शैलीमा विस्तार हुन सक्छ, त्यसलाई नजर अन्दाज गर्न मिल्ने अवस्था छैन ।
यसैले आगामी पाँच बर्ष कस्तो अभिभावक चयन गर्ने भन्ने कुरा निकै महत्वपूर्ण छ ।
संभावनाको दृष्टिले सत्तारुढ वामगठबन्धनले कस्तो उम्मेदवार उठाउछ, उसकै विजयको संभावना बढी देखिन्छ पनि । सत्तारुढ बामगठबन्धनमा पनि संगठनको स्वरुप, सांगठानिक अवस्था, हालैका निर्वाचनमा पाएको मत, भातृ तथा शुभेच्छुक संगठनहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्जाल, राष्ट्रिय तथा अन्तराष्ट्रिय छवि र स्वीकार्यताका हिसाबले नेकपा एमालेको प्रभावकारी भूमिका रहने देखिन्छ ।
सत्ता साझेदार वा सहयात्री बनेको माओवादी केन्द्रका अध्यक्ष र पार्टीका अन्य नेताको हैसियत किनाराको साक्षीभन्दा बढी देखिदैन् । पार्टी एकीकरणको सांगोपांगो नलागेकोले माओवादी केन्द्रका अध्यक्ष र नेताहरुको स्वर दब्न पुगेको छ । उनीहरुको बार्गेनिड. पावर छैन ।
खनाल कि भण्डारीकै निरन्तरता
संविधानले परिकल्पना गरेको अभिभावकीय भूमिका निर्वाहका लागि नेकपा एमालेभित्र अहिले दुई जना आकांक्षी देखिनुभएको छ। एमालेका पूर्व अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अब मुलुकको अभिभावक बन्न तयार हुनुभएको छ भने राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेको उपाध्यक्ष र साधारण सदस्यताबाट समेत राजिनामा दिनुभएकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि यही पदमा रहेर मुलुकलाई निरन्तर सेवा दिन इच्छुक देखिनुभएको छ ।
राष्ट्रपति पदमा रहीरहेको मुलुकको अभिभावकलाई पुन: राष्ट्रपति पदमा उठाउने निर्णय नेकपा एमालेको स्थायी समिति,केन्द्रीय कमिटी लगायतका निकायमा कसरी प्रस्तुत हुन्छ रु यो हेर्न बाँकी नै छ ।उहाँलाई पुन: राष्ट्रपति बनाउन मनोनयन गर्ने निर्वाचनको समयतालिकाभित्रै राजीनामा गराउनु पर्ने हुन्छ ।
त्यसपछि उहाँ संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सर्वसम्मतिमा राष्ट्रपतिमा आउन चाहानुहुन्छ कि एमालेको सदस्यता लिएर पार्टीबाट निर्णय गराउनेतिर लाग्नुहुन्छ रु राष्टिय सभाका मनोनित सदस्यको विवादका कारण नेपाली कांग्रेसले त उहाँको नाममा सहमति दिने अवस्था छैन् । पार्टीको साधारण सदस्यता लिएर पुन उम्मेदवारी दिने हो भने त उहाँले दुई ढंगले संवैधानिक दायित्व पूरा गर्न नसकेको देखिन्छ ,पहिलो संविधानले निर्धारित गरेको दायित्व उहाँले निर्वाह गर्न सक्नुभएन, राजिनामा दिएर पलायन गर्नुभो भन्ने आरोप आउछ ।
दोस्रो, राष्ट्रपति भैसकेर पनि पार्टी प्रवेश गर्नुभयो भने त झन आगामी दिनमा उहाँले संविधानको संरक्षक र मुलुकको अभिभावकीय दायित्व निर्वाह गर्न नसक्ने प्रष्टै देखिन्छ । जसले उहाँलाई उठाएर जिताउछ, उहाँको लोयल्टी त्यतै रहन्छ । हाम्रो संविधानले राष्ट्रपतिलाई मुलुकको सर्वोच्च निकाय मानेकोे छ , उहाँमाथि पार्टीको अर्थात धुम्बराहीको ह्वीप लाग्ने अवस्था समस्त नेपालीका लागि प्रितिकर रहने छैन् ।
राष्ट्रपति पदमा वर्तमान राष्ट्रपति भण्डारीको निरन्तरताले अरु गलत नजीर बस्ने अवस्था पनि छ । राष्ट्रपति वर्तमान संविधान, अर्थात यो संविधान निर्माण गर्ने संविधान सभा र त्यो संविधानसभा निर्माणको लागि जनमत दिने सबै नेपालीको भावनाको प्रतिक हो । हामीले राजतन्त्रलाई प्रतिस्थापित गरेर गणतन्त्रात्मक पद्धति अपनाएको हो । जनताबाट निर्वाचित हुने व्यक्तिमा पनि राजाकै शैलीमा नमरुञ्जेल शासनको आसनमा रहीरहने प्रवृत्ति उत्पन्न हुनु लोकतन्त्रको लागि शुभ संकेत होइन् ।
आफ्नो सुरक्षित राजनीतिक अवतरणको समयको पहिचान गर्न नसक्दा नेपालका राजनेताहरुको इतिहास र योगदान विलिन भएका थुप्रै उदाहरणहरु छन् । यसलाई वर्तमान राष्ट्रपतिका सहयोगी र शुभचिन्तकहरुले पनि मनन् गर्न जरुरी छ ।
पदको आशक्ति उहाँमा किन उत्पन्न भैरहेको छ ? आफ्नै लागि हो वा पार्टीका कार्यकर्ताका लागि हो वा आसेपासेहरुको लागि हो र? उहाँले यस पदमा रहेर आफूले गर्न सक्ने काम गरिसक्नुभएको छ , देखाउन पर्ने व्यवहार देखाइसक्नु भएको छ, राष्ट्रिय र अन्तराष्ट्रिय सम्मान पाईसक्नु भएको छ । अब दोहोरिदा संख्यामात्र दोहोरिने हो । आलांकारिक राष्ट्रपतिले सत्तापलट अर्थात ‘कू’भएमा बाहेक राज्यको सम्पूर्ण राजकीय शक्ति लिएर शासन गरेर देश र जनताको मुहार फेर्ने अवसर यहाँ छैन् । केवल मान प्रतिष्ठा र असल अभ्यासको लागि अभिभावक भएर बस्ने हो त्यो मिसन त पूरा भैसकेकै छ ।
राष्ट्रपति पदको निरन्तरताले उहाँलाई पतनको दिशामा अग्रसर गराउने धेरै जोेखिम छ । त्यसको छनक राष्टिय सभाका तीन जना सदस्यको मनोनयमा देखिइसकेको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंगको व्यक्तिगत सम्बन्ध जतिसुकै मधुर भएपनि उहाँको हठी स्वभावले राष्ट्रपतिको बनिसकेको छवि विग्रन सक्छ ।
धनको लोभ छैन भने, सत्ताको दुरुपयोग गर्ने दुराशय छैन भने, सबै नेपालीकोलागि निस्वार्थ, तटस्थ र निष्पक्ष अभिभावक भएको देखाउने हो भने हालको अवस्था उहाँको सम्मानजनक बहिर्गमनको लागि उपयुक्त हो । एक असाध्य रोगबाट पुनर्जीवन प्राप्त गरी देशको सर्वोच्च पदमा एक कार्यकाल व्यतित गरिसकेको व्यक्तिले आफ्नो कर्मप्रति सन्तुष्टी पनि लिन सक्नुपर्दछ । अवकाशप्राप्त राष्ट्रप्रमुखको हेरविचार राज्य गर्छ, राष्ट्रपति सत्तालिप्साको प्रतीक देखिनु हुँदैन ।
पछिल्लो समयमा राष्ट्रपति भण्डारीमाथि राजनीतिक रुपमा सक्रिय हुन खोजेको आरोप पनि लागेको छ । उहाँले राष्ट्रपतिको निवासलाई एमाले र माओवादीको वार्तास्थल बनाएको र दुईपार्टी एकीकरणको मध्यस्थकर्ता बनेको आरोप पनि छ । एमालेभित्र पनि राष्ट्रपति प्रदेशको सरकार निर्माणमा समेत सक्रिय रुपमा उत्रिएको आरोप आएका छन्। सक्रिय राजनीतिप्रतिको उहाँको बढ्दो मोहले सो पदको गरिमा गुम्ने भय छ ।
नेपालको राष्ट्रप्रमुख सांस्कृतिक धरोहरको प्रतीक पनि हो । उसले थुप्रै मन्दीर र देवी देउताको पूजाअर्चना र दर्शन गर्नुपर्ने परम्परा छ । कतिपय स्थानमा पुग्दा वर्तमान राष्ट्रपतिको सक्रिय विरोध भएको छ । आमजनताको धार्मिक आस्थाप्रतिको सम्मानका लागि पनि एमालेले पुनर्विचार गर्नुपर्ने अवस्था छ ।
नेकपा एमालेभित्रबाट राष्ट्रपति पदका अर्का आकांक्षी पूर्व पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल देखिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पहिलो प्राथमिकतामा पर्न नसक्नुभएका खनालप्रति पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व उपप्रधानमन्त्री वामदेव गौतमहरुको सद्भाव भने रहने देखिन्छ । प्रदेश सरकार चयन र मन्त्री चयनमा देखिएको असन्तोषले पार्टीको स्थायी समिटि र केन्द्रीय कमिटीमा पनि उहाँको पक्षमा माहोल सिर्जना गर्न सक्छ ।
लामो समय सत्ताको नेतृत्व गर्न नसकेको र पार्टीभित्र हाल निर्णायक अवस्थामा नरहेकोले अन्तराष्ट्रिय शक्तिहरुको सद्भाव भने वर्तमान राष्ट्रपति भण्डारीले जसरी उहाँले पाएको अवस्था छैन् ।
राष्टपतिको निर्वाचनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाउने उम्मेदवारको भूमिका प्रतीकात्मक मात्र रहने देखिन्छ भने माओवादी केन्द्रका आकांक्षीहरु एमालेका उम्मेद्वार मैदानमा रहेसम्म चुमुर्किएर बस्नुपर्ने अवस्था छ ।
राष्ट्रपतिको पदमा नेकपा एमालेले उठाउने उम्मेद्वारको पात्रको नामले नै एमालेले देशमा कस्तो शासन,संस्कार र राजनीतिक वातावरण सिर्जना गर्न खोजेको छ भन्ने छनक दिनेछ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताको उपयोग गरेर पार्टीभित्र र बाहिर लिड्को लगाउनुहुन्छ कि जीवनको उत्तरार्धमा प्रधानमन्त्रीको रुपमा देश र जनताको सेवा गर्न पाएको अवसरलाई निर्वाचनमा जनतासामु प्रतिवद्धता गरे अनुरुप शान्ति, सुशासन र समृद्धिको मार्गमा मुलुकलाई लैजान उपयोग गर्नुहुन्छ, यो एमालेजन र राज्य संयन्त्रमा रहेका उहाँका सल्लाहकार र सहयोगी तथा शुभचिन्तकहरुको भूमिकामा निर्भर गर्दछ ।


















