Prakash Adhikari November 1, 2021

 

विराटनगर(मोरड.), १५ कार्तिक। नेकपा एमालेका तर्फबाट प्रदेश १ का मुख्यमन्त्रीहुनुभएका भीम आचार्यले राजिनामा दिनुभएको छ ।

उहाँले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा दिनुभएको हो । प्रदेश प्रमुख समक्ष राजिनामा बुझाउनु अगाडि उहाँले दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएको थियो ।

प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले उहाँ मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य हुनुभएको हो।

नेकपा एमाले एकीकृत रहदा १० भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्य पार्टी विभाजित भएर नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएसंगै भाद्र २५ गते नै अल्पमतमा पर्नुभएको थियो ।

एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा पर्नुभएका आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

उहाँले राजीनामा दिएपछि विश्वासको मत लिने प्रस्ताव मतदानमा लगिएन ।

नयाँ सरकारको दावी गर्न आह्वान

मुख्यमन्त्री आचार्यले दिनुभएको राजिनामा प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्वीकृत गर्नुभएको छ ।

मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गरेसंगै उहाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धनका ५० सांसदले नयाँ सरकार गठनका लागि हस्ताक्षर संकलन गरिसकेका छन्।

हालसम्मको सहमति अनुसार गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी छ ।

 

Share Now

Leave a comment.