बीरेन्द्रनगर(सुर्खेत), १५ कार्तिक। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिनुहुने बताइएको छ ।
उहाँले पूर्वसहमति अनुसार नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभएकोछ ।
‘पूर्वसहमति अनुसार आज नै मुख्यमन्त्रीज्यूले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ,’ नेता शाहीले भन्नुभएको छ, ‘केही प्रक्रियाहरु पूरा हुँदैछन् । आज बेलुकासम्म राजीनामा आउँछ ।’
गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो ।
सोही सहमति अनुसार तत्काल पदबाट राजीनामा दिन कांग्रेसले दबाब दिँदै आएको छ ।
कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीका अनुसार मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । सोहि बैठकबाट शाहीले राजीनामाको घोषणा गरेर प्रदेश प्रमुख समक्ष बुझाउने बताइएको छ ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले केन्द्रीय गठबन्धनबाट राजीनामा दिन निर्देशन आइनसकेका कारण सोमबार नै राजीनामा दिने वा नदिने भन्ने यकिन नभएको बताउनुभएको छ ।
उहाँले कांग्रेसका साथीहरुले ५ बजे नै राजीनामा दिनुपर्छ भन्नुभएको तर अहिले छलफल भइरहेको बताउदै तर राजीनामा दिने यकिन नभएको बताउनुभएको छ ।


















