काठमाडौं, १५ कार्तिक । नेपाल पर्वतारोहण संघलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा काम गर्न आग्रह गरिएको छ ।
संघको ४८औं स्थापना दिवसका अवसरमा सोमबार संघको केन्द्रीय सचिवालय भवनमा आयोजित कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले सो आग्रह गर्नुभएको हो ।
प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका महानिर्देशक अधिकारीले आफ्नो शुभकामना मन्तव्यमा भन्नुभयो,हिमाली क्षेत्रको जलवायु परिवर्तनले त्यहाँका बासिन्दा र समग्र देशमा पर्ने असरका क्षेत्रमा पनि संघले काम गर्नुपर्ने आवश्यकता छ ।
उहाँले हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन सुरक्षा महत्वपूर्ण भएकोले त्यसलाई विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो ।
महानिर्देशक अधिकारीले पर्वतारोहण गतिविधि कञ्चनजंघा,मकालु, खुम्बु र अन्नपूर्ण क्षेत्रमा मात्र केन्द्रीत भएको तर नेपालमा पूर्वमा ताप्लेजुड.देखि पश्चिमसम्म हिमाल रहेको बताउदै अन्य हिमाल प्रबर्धन गर्न पनि अग्रसरता लिन संघलाई आग्रह गर्नुभएको थियो ।
उहाँले संघलाई पर्वतीय पर्यटनको नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभएको छ ।

स्थापित संघले पर्वतारोहणको क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति निर्माण गर्ने, हिमाली क्षेत्रका बासिन्दाको जीविको पार्जनमा सघाउने, हिमाली क्षेत्रको वातावरण संरक्षण गर्ने उद्देश्यले २०३० साल कार्तिक १५ गते (तद् अनुसार १ नोभेम्बर १९७३) मा संघको स्थापना भएको हो ।
संघलाई नेपाल सरकारले प्रबर्धन गर्न नसकेका २७ वटा होचा हिमालहरुको आरोहण अनुमति दिने, रोयल्टी संकलन गर्ने, आरोहण अनुगमन गर्ने,प्रमाणपत्र जारी गर्ने अधिकार पनि दिनएको छ ।
कार्यक्रममा संघका अध्यक्ष सन्तबीर लामाले संघले ४८ बर्षको इतिहासमा हिमाल आरोहणमा दक्ष जनशक्ति उत्पादन , पर्वतारोहण र पर्वतीय खेल प्रवर्धन, हिमाल सफाई र हिमाली क्षेत्रको वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।
उहाँले पर्वतारोहणको क्रममा जीवन गुमाउने पर्वतारोहीहरुको आश्रित परिवारलाई सहयोग गर्ने र तिनका बालबालिकाको शिक्षा दीक्षामा पनि संघले सघाउदै आएको उल्लेख गर्नुभयो ।
संर्घ विश्व पर्वतारोहण संघ र एशियाली पर्वतारोहण संघको सदस्य बनेर नेपालमा पर्वतीय पर्यटन विकासमा सहकार्य गर्दै आएको पनि बताउनुभयो ।
उहाँले नेपालको पर्वतीय पर्यटनलाई प्रबर्धन गर्ने क्रममा संघले हालै ४ सय ६७ वटा हिमालको पिक प्रोफाइल तयार पारेर त्यसको डिजिटल भर्सन विश्व पर्यटन दिवसको उपलक्ष्यमा संघको नवनिर्मित भवनको समुद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट भैसकेको जानकारी पनि दिनुभएको थियो ।
अध्यक्ष लामाले हिमाल आरोहणका लागि आरोहीले तिरेको रोयल्टीको १० प्रतिशत रकम नेपाली पर्वतारोहीको कल्याण गर्ने बास्केट फण्ड बनाउन आवश्यक भएको बताउनुभयो । उहाँले यस्तो कार्यमा सहयोग गर्न जापानी मानवीय संस्था तयार रहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा धवलागिरि हिमालका प्रथम महिला आरोहीद्धय पूर्णिमा श्रेष्ठ र पासाड. ल्हामु शेर्पालाई सम्मानित पनि गरिएको थियो ।
अध्यक्ष लामाले नेपाली चेलीहरुको साहसिक धवलागिरि आरोहण सगरमाथाको शिखरमा पहिलो पाइला टेक्ने तेन्जिड. नोर्के शेर्पा र एण्डमण्ड हिलारीको जस्तै गौरवपूर्ण कार्य भएको बताउनुभयो ।
धवलागिरि आरोहीद्धयले पर्वतारोहण संघले दिने आधारभूत र एड्भान्स तालिमले आफूहरुलाई पर्वतारोहणमा लाग्न धेरै सजिलो भएको बताउनुभएको थियो ।
संघका अध्यक्ष सन्तबीर लामाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष माया शेर्पाले स्वागत मन्तब्य प्रकट गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव कुलबहादुर गुरुड.ले गर्नुभएको थियो ।


















