बीरेन्द्रनगर/ विराटनगर, १६ कार्तिक । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
सत्ता साझेदार दल नेपाली कांग्रेसका छ, नेकपा ९माओवादी केन्द्र० का १२ र नेकपा (एकीकृत समाजवादी) को तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा आज दिउँसो ४ः०० बजे मुख्यमन्त्रीमा नेता शाहीले प्रदेश प्रमुख कलौनीसमक्ष दाबी पेस गर्नुभएको थियो । आज साँझ ७ः३० बजेको समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेस भएपछि प्रदेश प्रमुख कलौनीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
कर्णाली प्रदेशसभामा हाल ३५ सदस्य छन् । सत्ता गठबन्धन दलमध्ये कांग्रेसका छ, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी ) का तीन प्रदेशसभा सदस्य गरी २१ जना छन् । प्रदेशसभामा नेकपा एमालेका भने सभामुखसहित १३ र राप्रपाका एक सदस्य रहेका छन् ।
मुख्यमन्त्री राईद्वारा सपथ
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई पद तथा गोपनीयता सपथ गराउनुभएको हो ।
यसैगरी, उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गर्नुभएको छ । गठित मन्त्रिपरिषद्मा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले रहनुभएको छ । उहाँहरुलाई मुख्यमन्त्री राईले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री राई आफैंसँग राख्नुभएको छ ।


















