Prakash Adhikari November 3, 2021

इडनवर्ग, १७ कात्तिक (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिई भोलि बिहीबार स्वदेश फर्कँदै हुनुहुन्छ ।

यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही कात्तिक १२ गते लण्डन प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री नेतृत्वको टोली आज स्थानीय समय दिउँसो १.५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै भोलि बिहान काडमाडौँ आइपुग्नेछ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहनुभएकाले उहाँ बाहेक भ्रमण टोलीमा रहनुभएका अन्य सबैजना स्वदेश फर्किंदै हुनुहुन्छ ।

स्वदेश फर्कनुअघि आज प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उहाँको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा रोप्नुभएको थियो । पाँचौँपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्नुभएको थियो । त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो ।

प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो ।

 उच्चस्तरीय साइडलाइन बैठक

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गर्नुभएको छ ।

सम्मेलनको दोस्रो दिन नोभेम्बर २ मा भएको भेटमा रक्षामन्त्री वालेसले प्रधानमन्त्री देउवासँग बेलायती गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोना विरुद्धको भ्याक्सिनमा बेलायतको सहयोगका विषयमा पनि छलफल गर्नुभएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्याण्डका सरकार प्रमुखले सरकार प्रमुखहरूको स्वागतमा आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले वन तथा भूउपयोग व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई प्रतिष्ठित प्यानलका रूपमा सम्बोधन गर्दै स्वैच्छिक कार्बन बजार र उत्सर्जन घटाउने वन औजारमा नेपालको चासो रहेको धारणा व्यक्त गर्नुभएको भेटमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवासँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक मारी पाङ्गेष्टुले नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड–१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल गर्नुभएको भेटमा सहभागी अर्थ सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो ।

त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्री देउवाको मङ्गलबार नै आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षे र मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुख्दसँग द्विपक्षीय भेटवार्ता भएको थियो । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव किटैक लिमले पनि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा सन्दर्भमा कुराकानी गर्नुभएको थियो ।

शिखर सम्मेलनको पहिलो दिन नोभेम्बर १ मा उहाँले नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले आज नोभेम्बर ३ तारेख स्थानीय समयानुसार बिहान १०ः३० बजे स्कटल्याडको इडिनवर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा उहाँले नेपाली बगैँचामा बिरुवा पनि रोप्नुहनेछ ।

उहाँ नेतृत्वको प्रतिनिधिमण्डल आजै इडिनबर्ग विमानस्थलबाट कतारको दोहाहुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति संयुक्त अधिराज्य पुग्नुभएको थियो । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

Share Now

Leave a comment.