Prakash Adhikari November 4, 2021

काठमाडौं, १८ कार्तिक । संयुक्त अरब इमिरेट्समा नोभेम्बर २२ देखि आयोजना हुने महिला टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम बिहिबार बिहान बंगलादेशतर्फ प्रस्थान गरेको छ।

बंगलादेशमा नेपाली महिला टिमले नोभेम्बर ४ देखि ११ तारिखसम्म ४ वटा अभ्यास खेल खेल्ने तालिका रहेको छ।

नेपाली टिमले बंगलादेशको ‘ए’ टिम लगायत बंगलादेश राष्ट्रिय क्रिकेटर सम्मिलित टिमहरुसंग अभ्यास खेल खेल्नेछ भने अन्य दिन अभ्यास पनि गर्नेछ।

बंगलादेश भ्रमण पछि नेपाली टिम स्वदेश फर्किने छ र नोभेम्बर १४ तारिखमा नेपालबाट टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न कतार प्रस्थान गर्ने तालिका छ।

कतारमा नेपाली टिमले नोभेम्बर १६, १७ र १८ तारिखमा तीन वटा टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।

नेपाली महिला राष्ट्रिय टिमले खेल्ने उक्त सिरिज पहिलो अन्तर्राष्ट्रिय सिरिज हुनेछ। उक्त सिरिज पछि कतारबाटै टिम युएई प्रस्थान गर्नेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रिकामा आयोजना हुने महिला विश्वकप टि २० विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो।

प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टिम सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एकरएक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृष्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)द्वारा घोषित खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान (२ )मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ मा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ मा कुवेतसंग आईसीसी एकेडेमी मैदान (१)मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ मा तथा पाँचौ खेल नोभेम्बर २८ मा आईसीसी एकेडेमी मैदान (२ ) मा खेल्नेछ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले गत साता १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ। रुबिना क्षेत्री कप्तानीको टिममा कविता जोशीले पहिलो पटक स्थान बनाउन सफल भएकी छिन्। मिडियम पेसर जोशीले गत वर्ष पुषमा दाङमा आयोजित प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० प्रतियोगिता सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै राम्रो प्रदर्शन गरेकी थिईन्।

त्यस क्रममा उनले बागमती प्रदेश बिरुद्ध ह्याट्रिक समेत लिएकी थिईन्। पछिल्लो पटक २०१९ मा राष्ट्रिय टिममा रहेकी विश्वकीर्तिमानि बलर अन्जली चन्द, शान्ति खतिवडा यो पटक टिममा छैनन्। यस्तै ममता चौधरी र रोमा थापालाई वैकल्पिकको सूचीमा समाबेश गरिएको छ।

नेपाली टिम : रुबिना क्षेत्री (कप्तान), डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे(विकेटकिपर) , सरस्वति चौधरी, काजल श्रेष्ठ (विकेटकिपर), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा बैकल्पिक खेलाडी : सरस्वति जिएम, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी

Share Now

Leave a comment.