जेनेभा(स्वीजरल्याण्ड), १९ कार्तिक । युरोपभरि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा उक्त महादेश पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।
एउटा पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताउनुभयो।
उहाँले खोप पर्याप्त मात्रामा नलगाइँदा सङ्क्रमितको सङ्ख्या बढको बताउनुभयो।
“हामीले हाम्रो काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ। कोभिड-१९ बढेकोमा प्रतिक्रिया जनाउने भन्दा सुरुमै यो सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्छ”, उहाँले भन्नुभएको छ।
हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको थियो।

युरोपमा खोप
स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप लगाएका छन् भने फ्रान्स र जर्मनीमा भने क्रमशस् ६८ र ६६ प्रतिशतले मात्रै लगाएका छन्।
पूर्वी र मध्ययुरोपका केही देशमा त खोप लगाउनेको सङ्ख्या अझै कम रहेको छ।
सन् २०२१ को अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशत रुसीहरूले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्।
डब्ल्यूएचओका युरोप प्रमुख क्लुग्अले सङ्क्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको बताएका छन्।
युरोपेली क्षेत्रमा मध्यएसियाका केही भागसहित ५३ देश समेटिन्छन्।
डब्ल्यूएचओले अहिलेसम्म उक्त क्षेत्रमा १४ लाख मानिसको मृत्यु भइसकेको पुष्टि गरेको छ।
विश्वकै लागि चेतावनी
डब्लूएचओका कोभिड १९ प्राविधिक प्रमुख मरिया भान कर्कोफले खोप र सामाग्रीको उपलब्धताका बावजुद विगत चार सातामा युरोपभरि सङ्क्रमित ५५ प्रतिशतले बढेको बताउनुभएको छ।
उहाँका सहकर्मी डाक्टर माइक रायनले पनि युरोपको अहिलेको अनुभव विश्वका लागि चेतावनी भएको बताउनुभयो।
जर्मनीमा विगत २४ घण्टामा नयाँ सङ्क्रमितको दैनिक सङ्ख्या ३४ हजार पुगेका बेला उहाँले यस्तो चेतावनी दिनुभएको हो।
जर्मनीको यो दैनिक सङ्ख्या यूकेको हालैको सबैभन्दा धेरै दैनिक सङ्ख्या ३७ हजारभन्दा कम नै हो।
तर जनस्वास्थ्यका अधिकारीहरू भने सङ्क्रमणको चौथो लहरले स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने र धेरै सङ्ख्यामा मानिसहरूको मृत्यु हुनसक्ने भन्दै चिन्तित बनेका छन्।
विगत २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १ सय ६५ रहेको छ जुन एकसाता अघि १ सय २६ थियो।
मृत्यु हुनेको सङ्ख्या रुसमा नाटकीय रुपमा बढेको छ।
विगत सातामा त्यहाँ ८ हजारभन्दा धेरै मानिसको मृत्यु भयो भने छिमेकी युक्रेनमा ३ हजार ८ सयले ज्यान गुमाएका छन्।
रोमानियामा पनि विगत सातामा मृत्यु हुनेको सङ्ख्या ५ सय ९१ थियो भने हङ्गेरीमा दैनिक सङ्क्रमित हुनेको विगत सातामा दोबरभन्दा बढी पुगेको छ।


















