काठमाडौँ, २० कात्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।
यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त हुँदैछ ।
दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले मध्याह्न ११ः०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन् ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।
राष्ट्रपतिद्वारा भाइ डेगेन्द्रलाई टीका
राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । उहाँले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गर्नुभयो । भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिबाट आशीर्वाद लिनुभयो ।
त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गर्नुभएको थियो । त्यसैगरी राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाई दुबो, मखमली, सयपत्री र गोदावरी फुलको माला लगाइदिनुभएको थियो ।
उपराष्ट्रपतिबाट टीका ग्रहण
उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उहाँले आफन्त बहिनीहरुबाट टीका ग्रहण गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।
टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गर्नुभएको थियो ।
सञ्चारमन्त्रीबाट टीका ग्रहण
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाइटीकाका अवसरमा बहिनीहरुसँग यसवर्षको टीका ग्रहण गर्नुभएको छ ।
सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनीको निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना बहिनी सुशीला बस्नेत र तारा थापाबाट टीका ग्रहण गर्नुभएको हो । सञ्चारमन्त्री कार्कीसहित चार दाजुभाईले टीका ग्रहण गर्नुभएको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइहरु देवेन्द्र कार्की, डा मृगेन्द्र कार्की र लोकेन्द्र कार्कीले टीका ग्रहण गर्नुभएको हो ।
टीका लगाइदिएपछि बहिनीहरूले सञ्चारमन्त्रीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । सो अवसरमा सञ्चारमन्त्री कार्कीले बहिनीहरुलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गर्नुभयो


















