काठमाडौं, २३ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमाथिका बालबालिकालाई कोभिडबाट जोगाउने उद्देश्यले किन्न लागिएको फाइजर खोप अबको दुई महिनाभित्र नेपाल आउन थाल्ने बताउनुभएको छ।
उहाँका अनुसार खरिद प्रक्रिया सुरु भइसकेको छ र दुई महिनाभित्र खोपहरू क्रमशः आउन थाल्नेछन्।
सरकारको प्रतिबद्धताअनुसार चैत महिनाभित्र सबै योग्य नागरिकलाई कोभिडविरुद्ध खोप दिइसक्नेगरी खोप खरिद गर्ने र भित्र्याउने काम अहिले भइरहेको उहाँले बताउनुभयो।
खासगरी विद्यार्थीहरू भौतिक रूपमै विद्यालय गएर पढ्न थालेका बेला उनीहरूले खोप कहिले पाउँछन् भन्ने चासो धेरैमा देखिन्छ।
त्यसबारे मन्त्री खतिवडाले बीबीसीसँग भन्नुभएको छ, “फाइजर र मोडर्ना गरेर एक करोड मात्रा खोप भित्र्याउँदा त्यसले १२ देखि १८ वर्ष उमेरकालाई पर्याप्त हुन्छ भन्ने लाग्छ। अब खरिदको प्रक्रिया सुरु भएकोले सम्भवतः अबको तीन(चार महिनाभित्र सम्पन्न गर्छौँ।”
खोप खरिदको निर्णय
सोमवार बसेको मन्त्रिपरिषद्ले खासगरी १२ वर्षका बालबालिकादेखि १८ वर्षसम्मका किशोरकिशोरीलाई लगाउन मिल्ने फाइजर खोपको ६० लाख मात्रा खरिद गर्ने निर्णय गरेको थियो।

त्यसअघि त्यही उमेर समूहलाई लक्षित गर्ने भनेर मोडर्नाको ४० लाख खोप पनि खरिदको प्रक्रिया सरकारले थालेको थियो।
तर मोडर्ना खोप भने विश्व स्वास्थ्य सङ्गठनले अहिलेसम्म १२ देखि १८ वर्षका लागि भनेर तोकिनसकेकाले सरकारले सो उमेर समूहलाई दिने निर्णय गरिनसकेको खोप शाखाका प्रमुख सागर दाहालले बताउनुभएको छ।
“अमेरिका तथा युरोपका कतिपय देशले १२ वर्षभन्दा माथिको उमेरकालाई मोडर्ना खोप दिन थाले पनि हामीले निर्णय गरिसकेका छैनौँ “, उहाँले भन्नुभयो।
उहाँका अनुसार १२ वर्षमाथिका खोप लगाउने लक्षित बालबालिका तथा किशोरकिशोरीको जनसङ्ख्या झन्डै ३५ लाख छ।
त्यति मात्राले १२ वर्षमाथिका सबै बालबालिकालाई खोप लगाउन पुग्ने उहाँ बताउँनुहुन्छ।

भण्डारण क्षमता
कोभिशील्ड, भेरो सेल, जोनसन एन्ड जोनसन र आस्ट्राजेनेकाजस्ता अन्य खोपको दाँजोमा अब आउने भनिएका मोडर्ना र फाइजरजस्ता खोपलाई निकै कम तापक्रममा राख्नुपर्छ।
भण्डारण र वितरण दुवैका दृष्टिकोणबाट फाइजर खोप चुनौतीपूर्ण रहेको विज्ञहरू बताउँछन्।
विज्ञहरूले सुरुमा फाइजर खोपलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने बताएका थिए।
तर पछि अमेरिकाले भने त्यस्तो मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था स्वीकृत गरेको थियो।
मोडर्ना खोप पनि छ महिनासम्म भण्डारण गर्नका लागि माइनस २० डिग्री सेल्सीअस तापक्रम कायम गर्नुपर्छ।
तर एक महिनासम्म राख्नका लागि भने अन्य खोपसरह दुईदेखि आठ डिग्रीमै राख्न सकिने बताइन्छ।

अमेरिकामा फाइजर-बायोएनटेकले बनाएको कोभिड खोप पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई पनि दिन थालिएको छ
तर सरकारको योजना खोप ल्याएर लामो समय राख्ने अनि भण्डारण गर्ने नभई ल्याएर वितरण गरिहाल्ने रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्री खतिवडाले भन्नुभयो, “एक महिनाभित्र यो खोपलाई प्रयोग गरिसक्नुपर्ने हुनाले भण्डारण क्षमतालाई समेत ध्यान दिएर खण्डखण्डमा ल्याउँछौँ।”
स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि एक दिनमै चार लाख मात्रासम्म खोप लगाइएको अभिलेख छ।
नेपाल आउने ४० लाख मोडर्ना खोप एकै चरणमा आए पनि व्यवस्थापनका लागि समस्या नहुने यसअघि स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताउनुभएको छ।

फाइजर खोप
केही साताअघि कोभ्याक्स सुविधाअन्तर्गत एक लाख मात्रा फाइजर खोप नेपाल ल्याइएको थियो
अहिलेसम्म कति जनाले खोप पाए ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार अहिलेसम्म कुल जनसङ्ख्याको झन्डै २५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।
१८ वर्षमाथि खोप लगाउने लक्षित जनसङ्ख्या भने करिब २ करोड रहेकोमा अहिलेसम्म करिब ४४ प्रतिशतले पहिलो मात्रा खोप र ३७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।
खोप अभियान सुरु भएदेखि अहिलेसम्म १ करोड ६२ लाख मात्रा खोप लगाइसकिएको छ।


















