काठमाडौँ, २४ कात्तिक (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ ।
विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ । सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर यो चाड मनाइन्छ । तराई तथा मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा सूर्य देवता र छठी माताको पूजाअर्चना गरी मनाइन्छ ।
विविधताभित्रका एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।
छठ पर्वका अवसरमा उहाँले शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गर्नुभएको छ । साथै उहाँले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ । हाम्रा संस्कृति र संस्कारमा आ–आफ्ना विशिष्ट पहिचानका विशेषता रहेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नभएको छ । कोभिड–१९ नियन्त्रणका लागि अवलम्वन गरेका नीतिहरू प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
पर्वहरु राष्ट्र अविभाजित र एकताबद्ध बनाउने माध्यम : अध्यक्ष प्रचण्ड
नोपल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ‘प्रचण्ड’ले आज शुभकामना सन्देश दिँदै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि रहेको पनि अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल रहेको बताउनुभएको छ । कोरोना त्रास कायमै रहेको भन्दै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन पनि सबैमा अपिल गरिएको छ ।


















