Prakash Adhikari November 10, 2021

नयाँदिल्ली(भारत), २४ कात्तिक । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुभएको छ ।

बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

नेपाली सेनाका प्रधान सेनापति शर्माको यो पहिलो विदेश भ्रमण हो ।

मंगलबार दिल्ली पुग्नुभएका महारथी शर्माको भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस( विपिन रावतलाई भेट्ने कार्यक्रम पनि छ । भ्रमणका क्रममा उहाँले भारतका केही राजनीतिज्ञसँग पनि भेटवार्ता संभावना रहेको छ ।

मंगलबार साँझ उहाँले भारतीय समकक्षी मनोज मुकुन्द नरभणेसँग भेटवार्ता गर्नुभयो।

शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने नेपाली सेनाका १५ औं सेनापति हुनुहुन्छ । नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ ।

त्यसयता सिंहबहादुर बस्न्यात, गुणशमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुल शमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वल शमशेर जबरा, प्यारजंग थापा, रूक्माङ्गद कटुवाल, छत्रमानसिंह गुरुङ, गौरव शमशेर जबरा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा गरी १४ जनाले मानार्थ महारथीको सम्मान पाइसक्नुभएको छ ।

भारतबाट पहिलो पटक जनरल केएम करिअप्पाले नेपालमा आएर मानार्थ महारथीको सम्मान लिएका थिए । त्यसयता नरभणेसहित १८ जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसक्नुभएको छ ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभणेले २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिइसक्नुभएको छ ।

Share Now

Leave a comment.