Prakash Adhikari November 11, 2021

काठमाडौं, २५ कार्तिक । ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ।

आज बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिनेछ।

कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।  गणनाका लागि विभागले ४० हजार जना गणक खटाउने भएको छ।

तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटाइने जानकारी दिनुभएको छ।

त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८ हजार ५ सय जना सुपरीवेक्षक खटाइएको उहाँले बताउनुभयो।

४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउनेछन् भने कुल ८० प्रश्न सोधिने छ।  एक जना गणकले एक परिवारमा औसत २५ देखि ३० मिनेट लगाउने हुने प्रवक्ता चौलागाइँले बताउनुभयो।

यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ । उहाँले कुल २ हजार २ सय ५० वटा ट्याबलेट प्रयोग हुने बताउनुभयो।

‘‘७० को हाराहारीमा प्रश्नहरु छन्। सामुदायिक प्रश्न वडाले जवाफ दिने पनि छुट्टै छ। यस हिसाबले ७०–७२ वटा प्रश्न प्रत्यक्ष देखिएका छन्। यसलाई समग्रमा हेर्ने हो भने ८० वटा प्रश्नहरु हुनेछन्,’ उहाँले भन्नुभयो, “‘यो पटक लामो प्रश्नावली रहेको छ। यो विश्वकै लामो प्रश्नावली बुझिएको छ।”

‘यो प्रश्न सक्न २५ देखि ३० मिनेटको समय छुट्याइएको उहाँले बताउनुभयो। कुनै परिवारका सदस्य धेरै छन् भने समय बढी लाग्छ। परिवार सानो छ भने त्यहाँ थोरै समय लाग्छ” उहाँले भन्नुभयो, ‘त्यसैले एक परिवारका लागि एक जना गणकले २५ देखि ३० मिनेट समय छुट्याउनुपर्ने छ।’ जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य हुने पनि चौलागाइँले बताउनुभयो।

यसैगरी कालापानी, लिपुलेक क्षेत्रमा जगनणना गर्न भने स्वीकृति लिनुपर्ने उहाँले बताउनुभयो। ‘कालापानी, लिपुलेक क्षेत्रमा चार–पाँच वटा गाउँ छन्। केही गाउँमा तथ्याङ्क विभागका कर्मचारीले घर परिवार सूचीकरण गरिसकेको उहाँको भनाइ छ।  तर, केही ठाउँमा प्रशासनको स्वीकृति लिएर मात्रै जान मिल्ने अवस्था छ।,’ चौलागाइँले भन्नुभयो, ‘यसले गर्दा त्यस ठाउँमा स्वीकृतिको लागि बाँकी राखेका छौं। मिल्यो भने फेरि विभागका कर्मचारी जानेछन। जनगणना समन्वय समितिमा सिडिओ हुनुहुन्छ। उहाँहरुले पनि यसका लागि पहल गरिरहनुभएको छ । यो सरकारी स्तरबाटै पहल गर्नुपर्ने कुरा हो।’

४० हजार जना गणकले १५ दिनमा संकलन गरिसक्नुपर्नेछ। १२ औं जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने भएको छ। ‘यो १२ औं जनगणना हो। यसका लागि हामीले यसभन्दा अगाडि घर परिवार सूचीकरण कार्यक्रम गरिसकेका छौं। मुख्य गणनाको कार्य बिहीबारदेखि शुरु हुँदैछ, १५ दिनको लागि’ चौलागाइले भन्नुभयो।

निर्वाचन क्षेत्रको निर्धारण साथै वडागत तहको विवरणको लागि र विकास निर्माणको लागि पनि जनगणनाको तथ्याङ्क आवश्यक पर्ने उहाँको दाबी छ।

Share Now

Leave a comment.