दुबाई(संयुक्त अरब इमिरेट्स), २५ कार्तिक । टी २० विश्वकप क्रिकेट जित्ने सपनामा रहेको पाकिस्तानलाई चमत्कारिक रुपमा ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया यूएईमा जारी प्रतियोगितामा फाइनलमा पुगेको छ ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १ ओभर बाँकी रहँदै हासिल गरेर आफूलाई विश्वकपको दावेदारको रुपमा उभ्याउन सफल भयो।
अष्ट्रेलियाको जितमा ओपनर डेभिड वार्नरले ४९ रन बनाए। म्याथु वेडले अविजित ४१ रन बनाए भने मार्कस स्टोइनिसले अविजित ४० रन बनाए। मिचेल मार्शले २८ रन बनाए। त्यस्तै ग्लेन म्याक्सवेलले ७ रन र स्टेभेन स्मिथले ५ रन बनाए ।
अष्ट्रेलियालाई रोक्ने क्रममा पाकिस्तानका शदाब खानले सर्वाधिक ४ विकेट लिए भने शाहिन अफ्रिदीले १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट क्षतिमा १ सय ७६ रन बनाएको थियो।
पाकिस्तानको ब्याटिंगमा मोहम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए । यस्तै फखर जमानले अविजित ५५ रन बनाए। कप्तान बबर आजमले ३९ रन बनाए। सोयब मलिक र मोहम्मद हाफिजले एक एक रन बनाए ।
पाकिस्तानलाई रोक्ने क्रममा अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक २ विकेट भने प्याट कमिन्स र एडम जाम्पाले समान एक एक विकेट लिए।
यो खेलसंगै टी २० विश्वकप क्रिकेटको उपाधि उचाल्ने पाकिस्तानको सपना चकनाचूर भएको छ ।
अष्ट्रेलिया सन् २०१०मा पनि टी २० विश्वकपको फाइनल पुगेको थियो।
टी २० विश्वकपको सातौँ संस्करणको उपाधिको लागि अष्ट्रेलिया र न्युजिल्यान्ड आइतबार भिड्ने भएका छन।
दुवै टिमले हालसम्म टी २० विश्वकपको उपाधि जित्न सकेका थिएनन् ।


















