Prakash Adhikari November 12, 2021

 

बेइजिड.(चीन), २६ कार्तिक(बीबीसी) । चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा ऐतिहासिक प्रस्तावु पारित गरेको छ।

पार्टीको १०० वर्ष लामो इतिहासको सारांशको रूपमा रहेको उक्त दस्ताबेजमा पार्टीका महत्पूर्ण उपलब्धिहरू र भावी दिशा बारे विषयहरूलाई सम्बोधन गरिएको छ।

पार्टी स्थापना पछि यस्तो प्रस्ताव पारित भएको यो तेस्रो पटक हो।

पहिलो पटक सन् १९४५मा माओ त्से तुङ् र दोस्रो पटक सन् १९८१मा दङ सिओपिङले यस्तो प्रस्ताव पारित गरेका थिए।

बिहिवार चीनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक बैठकको छैटौँ पूर्ण सत्रमा उक्त दस्ताबेज पारित गरिएको हो।

यस्तो प्रस्ताव पारित गराउने तेस्रो चिनियाँ नेताका रूपमा यो कदम सीलाई पार्टीका संस्थापक माओ र उनका उत्तराधिकारी दङसँग बराबरीको हैसियत प्रदान गर्न प्रति लक्षित रहेको देखिन्छ।

माओ र सीका आकृति

माओ र सीका आकृति

केहीले उक्त प्रस्तावलाई चीनमा दङको नेतृत्वका बेला सुरु भएको र त्यसपछि जियाङ् जमिन सहित अन्य नेताहरूका पालामा समेत जारी रहेको दशकौँ देखिको विकेन्द्रीकरणलाई फिर्ता गर्ने सीको पछिल्लो प्रयासका रूपमा हेरेका छन्।

चार दिनसम्म चलेको पार्टी बैठकमा १९औ केन्द्रीय कमिटीका पूर्ण र वैकल्पिक गरी ३७० भन्दा बढी नेताहरू जमा भएका थिए।

आगामी वर्ष हुने ‘न्याशनल कङ्ग्रेस’ बैठक अघि नेताहरूको यो प्रमुख बैठक हो।

आगामी वर्ष हुने ‘न्याशनल कङ्ग्रेस’ बैठकमा सीले ऐतिहासिक रूपमा राष्ट्रपति पदमा तेस्रो कार्यकालको माग राख्ने अपेक्षा गरिएको छ।

सन् २०१८मा चीनले राष्ट्रपतिका लागि दुई कार्यकालको व्यवस्था खारेज गरेको थियो जसले सीलाई आजीवन शक्तिमा रहने बाटो खोलिदिएको छ।

Share Now

Leave a comment.