काठमाडौं, २६ कार्तिक । बाङ्ग्लादेशमा मैत्रीपूर्ण क्रिकेट खेल्न गएको नेपाली राष्ट्रिय महिला टोली कोभिड परीक्षणबिनै स्वदेश फर्किन ढाका विमानस्थल पुगेपछि विमान चढ्न नपाएको विषयको अनुसन्धान गरिने नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्षले बताउनुभएको छ।
पूर्वनिर्धारित हिमालय एयरलाइन्सको उडानबाट बिहीवार नेपाल फर्किन नपाएपछि उनीहरूलाई बसमा भारतको बाटो हुँदै शुक्रवार नेपाल ल्याउने विकल्प रोजिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बीबीसीलाई बताउनुभयो।
चन्दले भन्नुभयो, ‘स्थानीय आयोजकहरूले स्पष्टसँग त्यहाँको व्यवस्था भनेनछन्। विमानस्थल पुग्दा उड्डयन अधिकारीहरूले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट मागे जुन नेपाली टोलीसँग थिएन।’
चन्दले उक्त घटना आफूहरूका लागि पाठ भएको अनि त्यस्तो चुक कसरी भयो भनेर आफूहरूले छानबिन गर्ने बताए।
अर्को विमानमा किन ल्याइएन ?
चन्दका अनुसार नेपाल आउने अर्को सीधा उडान आइतवार मात्र थियो। तर सोही दिन नेपाली टोली कतार जानुपर्ने भएकाले बसबाट आउनुपरेको उहाँले बताउनुभयो।
खेलाडी र व्यवस्थापकसहित १८ जनाको टोली काकडभित्तासम्म झन्डै १० घण्टा बसयात्रा गरेर आइपुग्नेछ। त्यसपछि भद्रपुरबाट विमानमा काठमाण्डू आउने बताइएको छ।
कतारमा तीनवटा खेलको शृङ्खला खेल्न आइतवार नै जानुपर्ने भएकाले अर्को उडान कुर्न नसकिएको उहाँको दावी थियो।

नेपालमा अभ्यासका क्रममा महिला क्रिकेट टोली
लगत्तै अर्को खेल खेल्नुपर्ने टोलीलाई बसको लामो यात्रा गराइनुले थकानजस्ता समस्या हुने भन्दै क्यानको व्यवस्थापनको आलोचना गरिएको छ।
क्यान अध्यक्षले नेपाली टोलीको अपमान कसैबाट नभएकोू बरु आफ्नो व्यवस्थापकीय कमजोरी तथा अनुभवको कमी कारण उक्त घटना भएको हुनसक्ने बताउनुभयो।
बाङ्ग्लादेश यात्रा
विश्वकप एशिया छनोटकोप तयारीका लागि तीन मैत्रीपूर्ण खेल खेल्न नेपाली महिला टोली बाङ्ग्लादेश पुगेको थियो।
ढाकामा त्यहाँको बीकेएसपी क्लबसँग खेलिएका तीन खेलमा नेपाली टोलीले दुई वटामा जित हासिल गरेको थियो।
अर्को साता कतारमा खेल सकिएपछि यूएईमा नेपाली टोलीले टी२० क्रिकेटको लागि एशिया छनोटका खेलहरू खेल्नेछ।


















