Prakash Adhikari November 14, 2021

 

दुबाई(संयुक्त अरब इमिरेट्स), २८ कार्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटको आज राति फाइनल खेल हुँदैछ । यूएई र ओमानको संयुक्त आयोजनामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार बेलुकी अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दै छन् ।

फाइनल खेल बेलुकी ७ः४५ बजे यूएईको दुबईमा शुरु हुँदैछ । न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो हो अष्ट्रेलिया दोस्रो पटक फाइनलमा पुगेको हो ।

सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउदै अष्ट्रेलिया फाइनलमा पुगेको हो । सुपर १२ का सबै खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको पाकिस्तान अष्ट्रेलियालाई पराजित गर्न असमर्थ रह्यो ।

त्यस्तै न्यूजिल्याण्डले पनि इङ्गल्याण्डलाई ५ विकेटले नै हराएको थियो ।

फाइनलमा पुगेको अष्ट्रेलियाले समूह चरणमा इङ्गल्याण्डसँग हार बेहोर्दा दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र बंगलादेशलाई हराएको थियो ।

न्यूजिल्याण्डले पाकिस्तानसँग पराजय बेहोर्दा भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्डलाई हराएको थियो ।

हेड टु हेडमा अष्ट्रेलिया हावी देखिएको छ । अहिलेसम्म दुवैले एकापसमा १४वटा टी–२० खेलेका छन् । जसमा ९ खेल अष्ट्रेलियाले जितेको छ ।

न्यूजिल्याण्डले ५ खेलमात्र जितेको छ । टी–२० विश्वकपमा दुवैबीच एउटामात्र खेल भएको छ । उक्त खेलमा न्यूजिल्याण्ड विजयी भएको थियो ।

यो तथ्यांकअनुसार उपाधिका लागि न्यूजिल्याण्डको पहिलो दावेदारी देखिएको छ । तर अष्ट्रेलियाले जित्यो भने उपाधिसहित बदला लिएर १–१ को बराबरी पनि गर्नेछ ।

दुवै टिममा अनुभवी खेलाडीहरु भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

जसले जिते पनि विश्वले नयाँ टी २० विश्वकप च्याम्पियन पाउने छ ।

Share Now

Leave a comment.