ग्लास्गो(स्कटल्याण्ड), २८ कार्तिक । ग्लास्गोमा आयोजित कोप २६ विश्व सम्मेलनमा खतरनाक जलवायु परिवर्तनलाई रोक्ने उद्देश्य लिइएको एउटा सहमति गरिएको छ।
हरित गृह ग्यासहरूका उत्सर्जनमा सबैभन्दा नराम्रो इन्धन स्रोत कोइलाको प्रयोग कम गर्ने विषयमा सहमति भएको हो। विस्तृत योजना भएको उक्त सम्झौता कोइला सम्बन्धी पहिलो जलवायु सहमति हो।
सम्झौतामा उत्सर्जन तीव्र गतिमा कम गर्ने र विकासशील देशहरूलाई जलवायु परिवर्तनको असर कम गर्न थप सहयोग गर्ने विषय पनि उल्लेख छ।
तर यो सहमति पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सिअसमा सीमित राख्नका लागि यथेष्ट छैन।
सहमतिको सुरुका मस्यौदामा उल्लेख गरिएको कोइलालाई चरणबद्ध रूपमा विस्थापित गर्ने विषय भारतको नेतृत्व लिएको विरोधका कारण नाटकीय रूपमा परिवर्तन भएको थियो।
भारतका जलवायु मन्त्री भूपेन्द्र यादवले विकासशील राष्ट्रहरूले आफ्नो विकास र गरिबी निवारणका विषय हुँदाहुँदै कसरी कोइलालाई विस्थापित गर्ने र इन्धनमा अनुदान दिने प्रतिबद्धता व्यक्त गर्न सक्छन् भनेर प्रश्न गर्नुभएको थियो।
अन्ततः सहभागी राष्ट्रहरू केही आलोचनाका बाबजुद कोइलालाई विस्थापित गर्ने शब्दावलीको स्थानमा चरणबद्ध रूपमा प्रयोग कम गर्ने शब्दावलीमा सहमत भए। कोप २६ का अध्यक्ष आलोक शर्माले जसरी घटनाहरू भए त्यसका लागि माफी माग्नुभयो।
शर्माले प्रतिनिधिहरूलाई त्यो सहमतिलाई समग्रमा सुरक्षित राख्नु महत्त्वपूर्ण भएको बताइरहँदा आँसु रोक्न सङ्घर्ष गरिरहनुभएको थियो।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले विश्वले ग्लास्गोको कोप २६ लाई जलवायु परिवर्तनको अन्त्यको सुरुवातको रूपमा हेर्ने आशा व्यक्त गर्दै लक्ष्य प्राप्तिका लागि निरन्तर कार्य गर्नेूप्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, ‘आउँदा वर्षहरूको गर्नु पर्ने थुप्रै कामहरू छन्। तर आजको सहमति एउटा ठूलो कदम हो र हामीसँग कोइलाको प्रयोग कम गर्ने पहिलो अन्तर्राष्ट्रिय सहमति र विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सिअसभन्दा कममा राख्ने मार्गचित्र छ।’
अमेरिकी जलवायु दूत जोन केरीले जलवायु जोखिमलाई रोकेर सफा हावा, सुरक्षित पानी र स्वास्थ्य ग्रह प्राप्त गर्नका लागि हामी अन्य समयभन्दा अहिले नजिक छौँभनेर प्रतिक्रिया दिनुभएको छ ।
तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेज कम उत्साहित देखिनुभयो । उहाँलेभन्नुभयो,’ हाम्रो कमजोर ग्रह धागोमा अड्किएको छ। हामी अझै जलवायु विपद्लाई बोलाइरहेका छौँ।’
‘हामी आपत्कालीन अवस्थामा जानुपर्ने बेला छ अन्यथा हामी नेट जीरोमा पुग्ने मौका शून्य हुन जान्छ।’

जलवायु परिवर्तन
सहमति अनुसार राष्ट्रहरूले आगामी वर्ष १.५ डिग्रीको लक्ष्य प्राप्तिका लागि आवश्यक थप कार्यबारे छलफल गर्ने छन्। अहिलेको प्रतिबद्धता पूरा भएको खण्डमा पनि विश्व तापक्रम २.४ डिग्री सेल्सिअसको वृद्धिमा मात्रै सीमित हुन्छ।
वैज्ञानिकहरूका अनुसार पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सिअसभन्दा बढी वृद्धि भएमा दशौँ लाख मानिसहरू चरम गर्मीमा हुनेछन्।
कोइलाका विषयमा कमजोर शब्दावली भए पनि केही पर्यवेक्षकहरूले यो सहमतिलाई एउटा विजय मानेका छन्।
‘शब्द परिवर्तन भए पनि उनीहरूले यो कोपबाट आएको सङ्केतलाई परिवर्तन गर्न सक्दैनन्। त्यो भनेको कोइलाको युग समाप्त हुनु पर्छ भन्ने हो’, ग्रीनपिसका अन्तर्राष्ट्रिय कार्यकारी निर्देशक जेनीफर मोर्गनले भन्नुभयो।
कोप २६ के हो र किन महत्त्वपूर्ण छ ?
कोइला पृथ्वीको ४० प्रतिशत कार्बन उत्सर्जनका लागि जिम्मेवार छ।
एक्सनएडका नीति निर्देशक लार्स कोच भने सहमतिमा कोइला मात्रै उल्लेख गरिएकोमा दुख व्यक्त गर्नुभएको छ।
‘यसले पेट्रोलियम पदार्थ र ग्यास उत्खनन गरेर शताब्दीदेखि पृथ्वीलाई प्रदूषित बनाइरहेका धनी देशहरूलाई छुट दिन्छ’, उहाँले भन्नुभयो।
फ्रेन्ड्स अफ अर्थ इन्टर्न्याश्नलका सारा शहले भन्नुभयो,”१.५ डिग्री सेल्सिअस मात्रै उल्लेख गरेर त्यसलाई परिपूर्ण हुने कुनै कुरा नभएको सहमति अर्थहीन छ। विकासशील देशहरूलाई दिइएको धोकाका रूपमा कोप २६ को स्मरण गरिने छ।”


















