काठमाडौं, २९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज देशभरका ९० बार इकाईमा विरोध प्रदर्शनको कार्यक्रम सञ्चालन गरिरहेको छ।
नेपाल वार एशोसिएसनका महासचिव लीलामणि पौडेलले काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर विरोध प्रदर्शन भैरहेको जानकारी दिनुभएको छ । उहाँले देशभरका सबै अदालतमा आज पनि मध्यान्ह १२ बजेसम्म विरोधका कार्यक्रम रहेको बताउनुभयो।
प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि मूल गेटमै प्रदर्शन गर्दै आएको छ ।
बारले कार्तिक २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर विरोध प्रदर्शन गरिरहेको छ ।
बारको विरोधका बाबजूद प्रधानन्यायाधीश जबरा इजलास तोक्दै आउनुभएको छ । बारले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाएको छ ।


















