काठमाडौं, १ मंसिर । कोभिड १९ का कारण हाल दैनिक एक एक उडानमा सीमित भएको नेपाल भारतबीचको उडानलाई चारगुनाले बढाउन सकिनेगरी भारत सरकारले पत्राचार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका अधिकारीले बीबीसीलाई बताएका छन्।
एअर बबल भनिने व्यवस्थाअन्तर्गत अहिले दुई देशका नागरिकहरू र अन्य देशका यात्रुको हकमा कूटनीतिज्ञहरू मात्र सहभागी हुन पाउने व्यवस्था थियो।
मन्त्रालयअन्तर्गत रहेको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेका अनुसार साप्ताहिक दुवैतर्फबाट ५६ वटा उडान हुने भएकाले व्यावहारिक रूपमा एअर बबल हटे जस्तै हुनेछ। अहिलेसम्म दुवै देशबाट एकएक गरी एक सातामा कुल १४ वटा भइरहेका थिए।
तर त्यसको प्रारूप कस्तो हुने र कहिलेबाट थप उडानहरू सञ्चालन गर्ने भन्ने निर्णय हुन बाँकी छ।
कोभिड महामारी सुरु भएपछि एअर बबल लागु भएको थियो। त्यससँगै मुम्बई, कोलकाता, ब्याङ्गलोर र बनारसमा नेपालबाट भइरहेका उडानहरू पनि रोकिएका थिए।
नेपाली अधिकारीहरूका अनुसार गत साता नेपाल र भारतका उड्डयनमन्त्रीबीच दिल्लीमा भएको भेटघाटमा भारतीय पक्षले एअर बबल छिट्टै हटाइदिने बताएको थियो।
संवाद
गत शुक्रवार दिल्लीमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भारतीय नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य एम सिन्धियासँग एअर बबलको विषयसहित नेपाली उड्डयन क्षेत्रसँग सम्बन्धित तीनवटा कुरा उठाउनुभएको बताइएको छ।
मन्त्री आलेका अनुसार एअर बबल हटाउने विषयमा सघाउने आश्वासन सिन्धियाले दिनुभएको थियो।
“एअर बबलकै कारण विभिन्न देशबाट आएका पर्यटकहरू भारतीय बाटो हुँदै नेपाल प्रवेश गर्न पाएका छैनन्”,आलेले सोमवार बीबीसीसँग भन्नुभएको थियो, “भारतकै अन्य सहरहरूमा विगतमा रहेका उडान रोकिएका छन्। महामारी केही कम भइरहेका बेला ती सुरु गर्न मैले आग्रह गरेको छु।”
आलेले भारतीय समकक्षीसँग अझै टुङ्गो लाग्न नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विभिन्न हवाई रूटको विषय समेत उठाएको बताउनुभएको छ।
आलेले भन्नुभयो, “जसलाई सुल्झाउनका लागि छिट्टै लिमा ६२६ भनिने महेन्द्रनगरमाथिबाट जाने हवाई मार्गलाई दुईतर्फी बनाउने आश्वासन पाइएको छ। त्यो विगतमै सम्झौता भएको विषय भए पनि यसअघि त्यसलाई कार्यान्वयनमा लैजान जोडबल नगरेको देखिन्छ।”
उक्त हवाईमार्गबाट नेपाल प्रवेश गर्न नपाउँदा भैरहवा अवतरण गर्न दिल्ली, इस्तान्बुल, दोहा लगायतका ठाउँबाट आउने विमानहरूले पूर्वी नेपालतर्फबाटै छिर्ने र बढी समय लाग्ने मार्ग प्रयोग गर्नुपर्ने हुन्छ।
मन्त्री आलेका अनुसार उहाँले २०७८ सालभित्रै सञ्चालनमा ल्याइने लक्ष्य रहेको भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका बेला प्रयोग हुने केही भारतीय आकाशको विषय पनि आफूले गम्भीरतापूर्वक लिने आश्वासनमन्त्री सिन्धियाबाट पाउनुभएको छ।
नेपालगन्ज र भैरहवाका प्रवेशबिन्दु पाउँदा त्यो गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल दुवैका लागि छोटो र सजिलो पर्ने बताइन्छ। तर अहिलेसम्म त्यसतर्फ कुनै प्रगति भएको छैन।
“यी सबै विषय समेटेर सोमवार हामीले औपचारिक पत्राचार समेत गरिसकेका छौँ।”
नेपाल-भारत कोभिडको अवस्था
नेपाल-भारतबीच सबैजसो भूमि नाकाबाट निर्बाध आउजाउ यसअघि नै सुरु भइसकेको छ।
नेपाल आउने पर्यटकको सूचीमा भारतीयहरूको सङ्ख्या शीर्ष स्थानमा रहने गर्छ।
मङ्गलवार भारतमा कोभिड सङ्क्रमित हुने दर विगत ४३ दिनमा २ प्रतिशतमुनि रहेको भारत सरकारको तथ्याङ्कले देखाउँछ।
सोमवार अपराह्ण प्रकाशित विवरणअनुसार २४ घण्टाको अवधिमा नेपालमा सङ्क्रमण पुष्टि हुने दर ३.३५ प्रतिशत थियो।
सो अवधिमा कोभिडसँग सम्बन्धित कारणले एक जनाको मात्र मृत्यु भएको थियो।(बीबीसीबाट)


















