काठमाडौं, ३ मंसिर । कोरोनाभाइरस सङ्क्रमणविरुद्ध प्रभावकारी देखिएका दुईवटा खाने औषधिको उत्पादन नेपालमा पनि गर्न मिल्नेगरी दुईवटा उत्पादकहरूले संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त एउटा निकायसँग गरेको सम्झौताले आफूहरूलाई उत्साहित बनाएको नेपाली अधिकारीहरूले बताएका छन्।
राष्ट्रसङ्घको समर्थनप्राप्त औषधिको सर्वाधिकार हेर्ने निकाय मेडिसिन्स पेटन्ट पूलसँग अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले मङ्गलवार कोभिड(१९ को खाने औषधिको उत्पादन इजाजतपत्र न्यून तथा मध्य आय भएका ९५ वटा देशमा उत्पादन र विक्री गर्न मिल्नेगरी सम्झौता गरेको थियो।
यसअघि गएको अक्टोबरको अन्तिम साता अमेरिकाको अर्को औषधि उत्पादक मर्कले इमोरी विश्वविद्यालयमा आविष्कार गरिएको कोभिड(१९ विरुद्धको खाने औषधि नेपालसहित १०५ वटा देशमा उत्पादन र विक्री गर्न अनुमति दिने गरी मेडिसिन्स पेटन्ट पूलसँग सम्झौता गरेको थियो।
अमेरिकी नियामक निकायबाट आपत्कालीन प्रयोगको लागि अनुमति माग गरेका ती दुवै औषधिले परीक्षणकालमा गम्भीर बिरामी हुने जोखिममा रहेका कोभिड(१९ भएका व्यक्तिहरूमा सकारात्मक प्रभाव पारेको अध्ययनहरूले देखाएका छन्।
नेपाली अधिकारीहरूले न्यून आय भएका देशहरूमा यी औषधिको उत्पादनका लागि विश्व स्वास्थ्य सङ्गठनसहितका निकायबाट सहयोग गर्ने विषयबारे आफूहरू जानकार रहेको बताएका छन्।
औषधि उत्पादकहरूको छाता सङ्गठनका एक पदाधिकारीले सरकारको साथ र समर्थन भए प्रविधि हस्तान्तरण गरी निकट भविष्यमा नै नयाँ औषधि नेपालमा उत्पादन गर्न सकिने बताएका छन्।
घोषणा गरिएका औषधिका विशेषता के छन् ?
फाइजरले यसै साता गरेको सम्झौताले आफूले विकास गरेको कोभिड(१९ विरुद्धको खाने औषधिलाई विश्वको ५३ प्रतिशत जनसङ्ख्यामा उपचारलाई पुर्याउन सक्ने उल्लेख गरेको छ।
नोभेम्बरको प्रारम्भमा फाइजरले औषधिको परीक्षण ‘क्लिनिकल ट्रायल’ ले पाक्सलोभिड नामक आफूले उत्पादन गरेको औषधिले उच्च जोखिममा रहेका वयस्क बिरामीमा अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावना ८९ प्रतिशतले घटाउने जनाएको थियो।
मर्कले विकास गरेको खाने औषधि मोल्नुपिराभिरले अस्पतालमा भर्ना हुने वा मृत्यु हुने जोखिम आधाले घटाउने भनिएको थियो।

कोभिडको औषधि
मोल्नुपिराभिर यूकेको नियामक निकायबाट कोभिड १९ को लक्षण भएका व्यक्तिको उपचारमा प्रयोग गर्न मिल्नेगरी अनुमति पाउने पहिलो औषधि हो।
नेपाली अधिकारीहरू के भन्छन् ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले औषधि उत्पादनका लागि थप अनुमति आवश्यक नपर्ने अवस्थाबाट नेपालभित्रै पनि कोभिडविरुद्धका खान मिल्ने औषधिहरूको उत्पादनको बाटो खुल्न सक्ने बताउनुभयो।
|हाम्रो आफ्नै सरकारी औषधि उत्पादक निकाय पनि छन्। अनि निजी औषधि उत्पादकहरूले एन्टिभाइरल औषधि उत्पादन गरेका छन् र खोपको क्षेत्रहरूमा पनि काम गरेका छन्। इजाजत प्राप्त भयो भने यहाँका उत्पादकहरूले पनि त्यो सम्भावनाको खोजी गर्न सक्छन्। ती फर्मुला लिएर नेपालमा उत्पादन गर्न सक्नु राम्रो कुरा हो।”, पौडेलले भन्नुभयो ।
पौडेलले यही नोभेम्बर महिनाको अन्त्यमा विश्व स्वास्थ्य सङ्गठनको विशेष सत्र आयोजना हुन लागेको र त्यसमा पनि कोभिड १९ को महामारी विरुद्ध प्रभावकारी देखिएका खोप र औषधिलाई सार्वजनिक सम्पत्ति बनाइनुपर्ने माग उठ्न सक्ने धारणा राख्नुभएको छ।
कोभिड १९ विरुद्धका औषधिको नेपालसहित विश्वव्यापी स्तरमा उत्पादन गर्न विषयमा केही समयदेखि छलफल भएको उल्लेख गर्दै उहाँले त्यसबारे ठोस पत्राचार भएको विषयमा भने आफूलाई जानकारी नरहेको बताउनुभयो।
नेपालको औषधि उत्पादनसम्बन्धी नियामक निकाय औषधि व्यवस्था विभागका एक प्रवक्ताले पनि उक्त विषयबारे त्यति धेरै जानकारी नभएको बताउनुभयो।
तर विश्व व्यापार सङ्गठनको ट्रिप्स भनिने बौद्धिक सर्वाधिकारसम्बन्धी सम्झौताले नेपालजस्ता विकासशील देशहरूमा औषधि उत्पादनको क्षेत्रमा बौद्धिक सम्पत्ति लागु नहुने व्यवस्था गरेको उहाँले उल्लेख गर्नुभयो।
फाइजर र मर्कले गरेको घोषणामा सुरुमा सङ्क्रमण देखा परेको चीनदेखि महामारीले नराम्रोसँग गाँजेको ब्रजिलमा औषधि उत्पादनका लागि छुट दिइएको छैन।

फाइजरको खाने औषधि
जनस्वास्थ्यविद्हरूको भनाई
तर पनि अल्पविकसित र विकासशील देशहरूमा आफ्ना औषधिको उत्पादनको बाटो खोल्न सक्ने गरी ती कम्पनीले गरेका सम्झौताको कैयौँ जनस्वास्थ्यविद्हरूले प्रशंसा गरेका छन्।
सङ्क्रामक रोगसम्बन्धी विज्ञ डा। बुद्ध बस्न्यातले बीबीसीसँग भन्नुभयो, “अहिले भएको घोषणा एकदमै प्रशंसनीय छ। कोरोनाभाइरसविरुद्धको खाने औषधिहरूलाई संसारभरि सहज उपलब्ध गराउन यस्ता प्रयासले सकारात्मक दिशामा डोर्याउँछ।”
एचआईभी एड्स रोगको महामारी देखा परेको समयमा भारतीय औषधि निर्माता कम्पनी सिप्लाले उक्त रोगको उपचारमा प्रयोग हुने औषधिलाई सस्तो र सर्वसुलभ बनाउन भूमिका खेलेको उदाहरण दिदैँ उहाँले भन्नुभयो, “त्यस बेला सिप्लाले सकेसम्म सस्तोमा एचआईभीविरुद्धको औषधि उपलब्ध हुने सुनिश्चित गर्नुपर्छ नत्र भने रकम तिर्न नसक्ने व्यक्तिहरूका कारण यो प्रभावकारी हुँदैनु भन्ने स्थापित गरायो।”
“सिप्लाकै कारण दक्षिण अफ्रिकासहित धेरै ठाउँमा एचआईभीको उपचारमा क्रान्तिकारी परिणाम देखियो।”
उहाँले धेरै देशमा कोभिड १९ विरुद्धको औषधिको उत्पादन हुँदा त्यसले मूल्य घटाउने उल्लेख गर्नुभयो।

खोप : खाने औषधि विकास भएसँगै कोरोनाभाइरस नियन्त्रण सहज हुने ठानिएको छ
नेपाली औषधि उत्पादकहरूले पनि थप इजाजतपत्र नचाहिने भएकाले अन्तर्राष्ट्रिय र स्वदेशी नियामक निकायबाट उत्पादनको अनुमति पाएपछि ती औषधिहरूको उत्पादन गर्न सकिने बताएका छन्।
तर त्यसका लागि सरकारको सहयोग आवश्यक पर्ने नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीले बताउनुभयो।
“विश्व व्यापार सङ्गठन र ट्रिप्सको प्रावधानअनुसार सन् २०३३ सम्म हामीलाई बौद्धिक सर्वाधिकार लाग्दैन। प्रविधिको क्षेत्रमा हामी कति अब्बल छौँ भन्ने मात्रै हो।”, अधिकारीले भन्नुभयो ।
नेपालमा औषधि उत्पादन गर्न कति सम्भव ?
हाल नेपालमा क्यान्सरसहित कैयौँ गम्भीर प्रकारका रोगहरूको औषधि उत्पादन हुन थालेको उल्लेख गर्दै अधिकारी कोभिड १९ विरुद्धको औषधिको उत्पादन पनि सम्भव रहेको बताउँछन्।
“अहिले ट्याब्लेट क्याप्सुलकै मिश्रणमा यी औषधिहरू आउन लागेका हुन्। हामी सहजै गर्न सक्छौँ। तर उनीहरूले हामीलाई प्रविधि हस्तान्तरण गरे भने हामी केही महिनामा नै उत्पादन गर्न सक्छौँ, नत्र हामीलाई केही समय थप लाग्छ”, उहाँले भन्नुभयो।
कुनै नयाँ औषधि मुलुकमा भित्र्याउने निर्णय नेपाल सरकारले गर्नुपर्ने भन्दै अधिकारीले कोरोनाभाइरस विरुद्धका औषधिहरू भारतमा पनि उत्पादन गर्ने भनिएकाले त्यसबाट नेपाललाई फाइदा हुने बताउनुभयो।
उहाँले भन्नुभयो, “भारतमा हुँदा हामीलाई प्रविधि हस्तान्तरणको हिसाबले पनि सजिलो भयो। पहिला हाम्रो देशले प्रयोगको लागि र उत्पादनका लागि अनुमति दिनुपर्यो। सर्वाधिकार हाम्रो लागि ठूलो विषय हुँदैन।”
बाङ्ग्लादेशमा उत्पादन हुन थालेको केही समयपछि नेपालमा पनि रेम्डेसिभिर उत्पादन हुन थालेको दृष्टान्त दिँदै अधिकारीले औषधि उत्पादकहरूले देशभित्रै खोप लगायत अन्य जीवनरक्षक औषधिहरू उत्पादन भइरहेकाले कोरोनाभाइरसको औषधि पनि उत्पादन गर्न आफूहरू सक्षम रहेको धारणा राख्नुभएको छ ।(बीबीसीबाट)


















