Prakash Adhikari November 19, 2021

 

काठमाडौं, ३ मंसिर । अमेरिकाले कोभिड १९, जलवायु परिवर्तन र आपसी हितका अन्य विषयमा नेपाललाई निरन्तर सघाउने तथा साझेदारी गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार साँझ उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्दै दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले नेपालप्रतिको अमेरिकी सहयोग र समर्थनको प्रतिबद्धता गर्नुभएको हो।

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग सम्बन्ध स्थापना तथा नवीकरणका निम्ति बुधबार साँझ काठमाडौं आइपुग्नुभएका सहायक विदेशमन्त्री लु र बिहिबार नेपाल आइपुगेकी उपसहायक विदेशमन्त्री किडरलिङले प्रधानन्त्री देउवासंग नेपालअमेरिका सम्बन्धका समग्र पक्षमा विचारविमर्श गर्नका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल गर्नुभएको थियो।

प्रधानमन्त्री र अमेरिकी कूटनीतिक टोलीबीच सात दशकभन्दा पुरानो नेपाल–अमेरिका सम्बन्धलाई थप प्रगाढ तुल्याउने, कोभिड(१९ महामारीको सन्दर्भमा सहयोगका दायरा अझ विस्तार गर्ने, महामारीपछिको पुनरुत्थान एवं पुनःप्राप्तिलगायत साझा हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो।

वार्तामा नेपालको विकास प्राथमिकताका विभिन्न क्षेत्रका साथै ऊर्जा र भौतिक पूर्वाधारका निम्ति अमेरिकाले अनुदानस्वरुप उपलब्ध गराउने ५५ अर्बभन्दा बढीको मिलेनियम कर्पोरेशन च्यालेञ्ज ९एमसिसी०लगायत संयुक्त राज्य अमेरिकाको सहयोगका बारेमा पनि छलफल भएको थियो।
यथाशक्य चाँडो एमसिसीलाई संसद्बाट अनुमोदन गर्न अमेरिकी प्रतिनिधिमण्डलले अनुरोध गरेको थियो। दुवै पक्षले नेपाल–अमेरिका सम्बन्धको समग्र अवस्थाप्रति सन्तोष व्यक्त गरेका छन्।

प्रवक्ता लम्सालका अनुसार नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा प्रधानमन्त्री देउवाले अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै नेपाललाई कोभिड–१९ विरुद्धको खोप उदारतापूर्वक उपलब्ध गराएकोमा त्यसको प्रशंसा गर्नुभएको थियो।

भर्खरै स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२६ का साथै नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको प्रतिकूल असरका बारेमा पनि अमेरिकी अधिकारीहरूसँग गहन छलफल भएको थियो। सहायक विदेशमन्त्री लुले जलवायु वित्त र प्रविधि हस्तान्तरणमार्फत अनुकूलन र जलवायु परिवर्तनका कारण सृजना हुने विपद् न्यूनीकरणका क्षेत्रमा अमेरिकी सरकारको योजनाबद्ध सहयोगबारे जानकारी दिनुभएको थियो।

प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक मान्यता र मानवअधिकार, विधिको शासनप्रतिको पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने सहायक विदेशमन्त्री लुले प्रजातन्त्र सुदृढीकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्नुभएको थियो।

सहायक विदेशमन्त्री लुले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले आयोजना गर्न लागेको लोकतन्त्रका लागि आगामी शिखर सम्मेलनमा सहभागी हुने सुनिश्चितता गरेकोमा प्रधानमन्त्री देउवाप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४८ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई राष्ट्रबीचको आपसी सम्बन्ध मित्रतापूर्ण छ भने नेपाल शान्त, समृद्ध, सुदृढ र प्रजातान्त्रिक देशका रूपमा विकासको पथमा अग्रसर होस् भन्ने चाहनाका साथ अमेरिकाले नेपाल सरकारका विकासका प्रयास र प्राथमिकतमा सघाउँदै आएको छ।

समावेशी र प्रभावकारी शासनव्यवस्थाको निर्माण, राजनीतिक स्थायित्व र आर्थिक विकास, मानवीय सेवाका क्षेत्रमा परनिर्भरताको न्यूनीकरण, क्षेत्रीय सुरक्षा तथा बृहत् अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक योगदान पुर्‍याउनेलगायत पहलहरूमा नेपालसँग वासिङ्टनले सहकार्य गर्दै आएको छ।

नेपालमा अमेरिकी सहयोग शान्ति र स्थायित्व, लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण, अत्यावश्यक सामाजिक सेवाको सुनिश्चितता, प्रभावकारी स्वास्थ्य सेवाको पर्याप्तता, गरिबी न्यूनीकरण, खाद्य असुरक्षा र मौसम परिवर्तनका चुनौतीहरूको सामना जस्ता क्षेत्रमा पुर्‍याइएको योगदानलाई थप सुदृढ गर्नेतर्फ केन्द्रित रहेको छ।

विसं २०७२ को भूकम्पपछि नेपालको पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्दै आएको अमेरिकाले आवास, शिक्षा, स्वास्थ्य, कृषि, जोखिममा रहेका समुदायको रक्षा, सांस्कृतिक सम्पदाको संरक्षणलगायत अत्यावश्यक क्षेत्रहरूमा पनि निरन्तर सघाइरहेको छ।

प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा मुख्यसचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपाल, परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी, परराष्ट्र मन्त्रालयको युरोप अमेरिका महाशाखा प्रमुख निर्मलराज काफ्ले तथा यहाँस्थित अमेरिकी दूतावासका उच्च अधिकारीको उपस्थिति थियो। रासस

Share Now

Leave a comment.