काठमाडौं, ४ मंसिर । कोरोनाभाइरस विरुद्धको खोप अबदेखि देशैभर १८ वर्ष माथिका सबैलाई दिने निर्णय भएको र त्यसै अनुसार प्रदेशहरूमा खोप पठाउने काम भइरहेको अधिकारीहरूले बताएका छन्।
झन्डै ३६ लाख खोप हाल उपलब्ध रहेको र जिल्ला एवम् स्थानीय तहहरूसँग समन्वय गरेर आवश्यकता अनुसार खोप कार्यक्रम सञ्चालन गर्न प्रदेशहरूलाई भनिएको बताइएको छ।
खोप लगाउन बाँकी रहेका १८ वर्षभन्दा कम उमेरका बालबालिका लागि खरिद सम्झौता गरिएको खोप पनि एक महिनाभित्र आउन सुरु हुने स्वास्थ्यमन्त्रीले बताउनुभएको छ।
यसअघि सरकारले कोरोनाभाइरस विरुद्धको खोप उमेर र पेसालाई वर्गीकरण गरेर बेलाबेला अभियानका रूपमा दिँदै आएको छ।
खोपको उपलब्धताका आधारमा केही जिल्लाहरूले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन सुरु गरे पनि धेरै जसो जिल्लामा १८ वर्ष माथिका सबैले खोप पाउन सकेका छैनन्।
प्रदेशहरूमा ३६ लाख खोप
हालै बसेको खोप सल्लाहकार समितिको बैठकले १८ वर्ष माथिका सबैलाई खोप दिने निर्णय गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
त्यसै अनुसार खोप प्रदेशहरूमा पठाउने काम भइरहेको र अब उनीहरूले योजना खोप दिने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले बताउनुभयो।

कोभिड खोप
शाखा प्रमुख दाहालले भन्नुभयो, ूती खोप अब १८ वर्षभन्दा माथिका सबैलाई उपलब्ध गराउन भनेर प्रदेशहरूलाई अनुरोध गरेका छौँ।ू
ूप्रदेश स्वास्थ्य निर्देशनालयले जिल्लासँग पालिकासँग समन्वय गरेर आवश्यकता अनुसार अभियानकै रूपमा अथवा नियमित रूपमा खोप उपलब्ध गराउने व्यवस्था हुने छ। त्यसका लागि हामीले केन्द्रबाट मार्ग प्रशस्त गरेका छौँ।ू
हाल ३६ लाख मात्रा खोप विभागसँग रहेको र थप खोप आउने क्रममै रहेको बताइएको छ।
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन जान उहाँले सबैलाई सार्वजनिक आग्रह समेत गर्नुभयो।

कोभिड खोप
बालबालिकाको खोप एक महिनामा आउन सुरु हुने
१८ वर्षभन्दा तलका बालबालिकाहरू भने खोपको पर्खाइमा छन्।
हाल दीर्घरोगी बालबालिकालाई मात्रै दिइएको फाइजर खोप अरू बालबालिकालाई पनि लगाउनका लागि सरकारले खरिद सम्झौता गरिसकेको जनाएको छ।
ती खोप एक महिना भित्रमा नेपालमा आउन सुरु हुने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताउनुभएको छ।
मन्त्री खतिवडाले भन्नुभयो, “अब एक महिना भित्रबाट पहिलो खेप आउन सुरु हुन्छ।”
कोभिड खोप
“दोस्रो मात्रा २३ दिनभित्र लगाउने गरी खोप आउँछ। ६० लाखको खरिद सम्झौता भएको छ त्यो क्रमशः १० वा १५ लाखको दरले हाम्रो भण्डार क्षमता अनुसार आउँछ।”
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म झन्डै ९१ लाखले कम्तीमा एक मात्रा र ७८ लाखभन्दा बढीले दोस्रो मात्रा खोप लगाइसकेका छन्।
खोप नलगाउने धेरै जनसङ्ख्या १८ वर्षभन्दा तलको छ।
त्यसरी खोप नपाएका बालबालिकाहरू पछिल्ला दिन भिडभाड हुने विद्यालयहरूमा नियमित रूपमा पढ्न गइरहेका छन्।(बीबीसीबाट)


















