Prakash Adhikari November 21, 2021

काठमाडौं, ५ मंसिर । सन २०२२ मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी २० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ वटा टोलीको टुङ्गो लागेको छ ।

रुवान्डामा भएको अफ्रिकन छनोटको विजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बनेको हो । यसअघि नै अन्य टोलीको टुङ्गो लागिसकेको छ ।

एक साताअघि युएईमा सम्पन्न टी २० विश्वकपको अन्तिम चारमा रहेका आयरल्याण्ड, नेदरल्याण्ड्स, ओमान र पपुवा न्युगिनीसहित टी २० को माथिल्लो वरीयतामा रहेको तर विश्वकपमा छनोट नभएका नेपाल, युएई, सिंगापुर र जिम्बाब्बे सिधै ग्लोबल क्वालिफायरमा पुगेका छन् । नेपाल टी २० को विश्व र्याडि.कड.मा १२ औं स्थानमा पुगेको छ ।

यस्तै एसिया क्षेत्र छनोटबाट बहराइन र हङकङ, इस्ट एसिया प्यासिकबाट फिलिपिन्स, युरोपबाट जर्सी र जर्मनी तथा अमेरिका क्षेत्रबाट अमेरिका र क्यानडा छनोट चरण पार गर्दै ग्लोबल क्वालिफायरमा पुगेका छन् ।

एसिया क्षेत्रको समूह बी को प्रतियोगिता रद्द हुँदा हङकङ छनोट भएको हो भने इस्ट एसिया प्यासिफिकको छनोट पनि रद्द हुँदा फिलिपिन्स छनोट भएको हो ।

ग्लोबल क्वालिफायरमा एसियाबाट ६ टिम छन् । यस्तै युरोपबाट चार टिम सहभागी हुँदै छन भने अफ्रिका, अमेरिका र इस्ट एसियाबाट दुई दुई टिम सहभागी हुनेछन् ।

टी २० विश्वकपका लागि अर्को वर्ष फेब्रुअरी र मे महीनामा ग्लोबल क्वालिफायर हुनेछ । जहाँ १६ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।

दुवै समूहबाट शीर्ष दुई दुई टिम अर्को वर्ष अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट हुनेछन् ।

नेपालले २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकप खेलेको थियो । त्यसपछिको दुई संस्करणमा भने नेपाल छनोट हुन सकेन ।

Share Now

Leave a comment.